लालबन्दी – सर्लाहीका तीनवटै क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ८ बजे पछिबाट सुरु भएको मतदान अपरान्ह ४ बजे सम्पन्न भएको हो । जिल्लाको पुरानो सर्लाही क्याम्पस मलङ्गवामा सबैभन्दा थोरै ४५ दशमलव २३ प्रतिसत विद्यार्थीले मात्रै मतदान गरेका छन् । क्याम्पसमा कूल दुई हजार २३७ जना विद्यार्थी भर्ना भएकामध्ये एक हजार १२ जनाले मात्रै मतदान गरेका हुन्् ।
यस्तै, जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा ७० दशमलव ५८ प्रतिसत विद्यार्थीले मतदान गरेका छन् । जनज्योतिमा कूल ९९६ जना विद्यार्थीमध्ये ७०३ जनाले मतदान गरेका हुन् । यहाँ ४४० जना छात्रा र २६३ जना पुरुषले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखपोखरीमा सबैभन्दा धेरै ७३ दशमलव २९ प्रतिसत विद्यार्थीले मतदान गरेका छन् । सुखेपोखरीमा ९७० जना विद्यार्थीमध्ये ७११ जना विद्यार्थीले मतदान गरेका हुन् ।
स्ववियु निर्वाचनमा क्याम्पसको स्नातक तह र स्नाकोत्तर तहमा भर्ना भएका विद्यार्थी मतदाता हुन्छन् । तीनवटै क्याम्पसमा सौहार्दपूर्ण वातावरणमा मतदान सकिएसँगै मतपेटिकाको मुचुल्का उठाएर सर्वपक्षिय बैठक राख्ने तयारी भइरहेको छ ।
सर्वपक्षिय बैठक सकिए लगत्तै आजै साँझबाट मतगणना सुरु हुनेछ । राति ९÷१० बजेसम्म मतगणना सकेर परिणाम घोषणा गर्ने निर्वाचन अधिकृतहरुले बताएका छन् । सर्लाहीका तीनवटा क्याम्पसमा ६० जना विद्यार्थी नेता प्रतिस्पर्धामा छन् । विद्यार्थीको चुनाव भए पनि राजनीतिक दलले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।