सुनिल ठाकुर/गम्हरिया – सर्लाहीको मलंगवा नगरपालिका–१२, गम्हरियामा आयोजित अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
माइस्थापन युवा क्लब गम्हरियाले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा शुक्रबार झापालाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागिय क्लब एपीएफ विजयी भएको हो । एपीएफले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गरेको मलंगवा नगरपालिका १२ का वडाध्यक्ष रामदरेश रायले जानकारी दिए ।
पहिलो सेटदेखि नै राम्रो खेल पस्किएको एपीएफलाई दोस्रो सेट जित्न भने केही मेहनत गर्नुपर्यो । तेस्रो सेटमा झापाले निकै खराब खेल पस्किएपछि एपीएफ ३–० को सोझो सेटमा विजयी हुन पुगेको हो । एपीएफको तर्फबाट भलिबलका तीन जना राष्ट्रिय खेलाडीले पनि सहभागिता जनाएका थिए ।
जितसँगै एपीएफले ट्रफीसहित नगद एक लाख २० हजार रुपियाँ हात पारेको छ । उपबिजेता झापाले भने ६५ हजार रुपियाँमा चित्त बुझाएको छ । खेलाडीले सोचेअनुसारकै प्रदर्शन गरेपछि जित सम्भव भएको एपीएफका प्रशिक्षक महेश चौधरीले बताए ।
प्रतियोगितामा एपीएफ, बागमती प्रदेशका मकवानपुर, सिन्धुली र कोशी प्रदेशका झापा तथा मधेश प्रदेशको ५ वटा समेत गरी नौवटा टिमको सहभागिता रहेको थियो ।