लालबन्दी – चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आफ्नो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानलका उम्मेदवारलाई जिताउन आज नेपाली कांग्रेसले लालबन्दीमा वृहत भेला गरेको छ ।
स्ववियु निर्वाचन समिति सर्लाहीकी संयोजक शर्मिला थापाको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं मधेश प्रदेशसभाका सदस्य जंगिलाल रायको प्रमुख आतिथ्यतामा लालबन्दीस्थित लालबन्दी पार्टी प्यालेसमा कार्यकर्ता भेला गरिएको हो । भेलालाई पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलगायतले सम्वोधन गरे ।
भेलाबाट नेविसंघको प्यानललाई बिजयी गराउन आ–आफ्नो स्थानबाट सक्रियता जनाएर लागि पर्ने उद्घोष गरिएको स्ववियु निर्वाचन समितिकी संयोजक थापाले जानकारी दिईन् । स्ववियु चुनाव आउन अब ३ दिन बाँकी रहँदा दल र उनीहरुको विद्यार्थी संगठन आक्रामक रुपमा प्रचारप्रसारमा लागिपरेका छन् ।
राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसारका लागि आज अन्तिम दिन हो ।