logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खडेरीले किसान निराश, खेतबारी बाँझै


  • उज्यालो अभियान

लालबन्दी – यो वर्ष फागुन अन्त्य भइसक्दा समेत आकाशे वर्षा नहुँदा सर्लाहीसहित तराई क्षेत्रका किसान मारमा परेका छन् ।

तराई भेगमा गएको भदौदेखि वर्षा हुन सकेको छैन् । आकाशको पानी कुरेर खेती गर्ने क्षेत्रका किसानको खेतबारी बाँझै छ ।

पानी नपर्दा खेतबारी जोत्न समेत नपाएको लालबन्दी नगरपालिका–१४, नारायण खोलाका किसान पद्मबहादुर दोङले गुनासो गरे । “चैत लाग्न लाग्यो तर यो वर्ष हिउँदमा एक झर पानी पर्न सकेन, खेतबारी सबै बाँझै छन्,” दोङले भने ।

सिँचाईको सुविधा नरहेको सुक्खा क्षेत्रका किसान खडेरीको चपेटामा परेका छन् । वर्षा भए यहाँका किसान खेतबारी खनजोत गरेर मकै रोप्ने तयारीमा छन् ।

जिल्लाको उत्तरी भेगका लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती तथा पूर्वी भेगका चन्द्रनगर, हरिपूर्वा, ब्रह्मपुरी, पर्सालगायत क्षेत्रमा आकाशे वर्षाको भरमा खेती हुने गरेको छ । नहर तथा कुलोको पानी लाग्ने क्षेत्रमा समेत महिनौँदेखि वर्षा नहुँदा पानी घटेको स्थानीय किसानले बताएका छन् ।

हरिपूर्वा नगरपालिका–९, वसन्तपुरका किसान विनय यादवले आकाशे वर्षा नहुँदा तरकारी, मकै, गहुँलगायत हिउँदे बालीमा महँगीको डिजेल हालेर पप्पसेटमार्फत सिँचाई गर्न बाध्य भएको बताए । “वर्षा हुन नसक्दा हामी किसान महँगीमा परेका छौँ, डिजेल डढाएर खेती गर्दा त्यही डिजेलको पैसा समेत उठ्दैन,” यादवले भने,“हिउँदे वर्षा नहुँदा यो वर्ष त असाध्य मारमा परियो ।”

वर्षाको आशमा बसेका किसान दिनभर टन्टलापुर घाम लागेर सुक्खा हावा चल्दा निराश बनेका छन् । एक हप्तासम्म निरन्तर मौसम धुम्मिएर गएको बुधबार यस क्षेत्रमा पानी छिट्याएको मात्रै थियो ।

त्यसपछि पानी टरेर सुक्खा झनै बढ्दा किसान निराश भएका हुन् । जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका प्राविधिक गणेश सिंहले पानी नपरेर सुक्खापन बढ्दै जाँदा हावा चल्न थालेपछि हिउँदे बाली थप प्रभावित भएको बताए ।

उनले पछिल्ला वर्षमा वर्षा नै कम हुँदै जाँदा खेतीबाली प्रभावित बन्दै गएको बताए ।