गोडैता – सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यो वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ ।
किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यो वर्ष १० लाख ९५ हजार ३०० क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ । सीमावर्ती क्षेत्र नजिकै रहेको यो उद्योगमा सर्लाही जिल्लाको दक्षिणी भेग र सीमापारी भारतका किसानले समेत उखु ल्याएर बिक्री गरेका छन् ।
महालक्ष्मीले उखु ल्याएर दिएका किसानलाई क्रमिकरुपमा भुक्तानी गरिरहेको दावी गरेको छ । स्थानीय शिवशङ्कर महतोले उखु नपाएपछि सूचना निकालेर मिल बन्द भएको र किसानले सूची अनुसार भुक्तानी पाइरहेका बताए ।
सर्लाहीमा यसअघि अन्नपूर्ण चिनी उद्योग धनकौल दुई साताअघि नै बन्द भइसकेको छ । उद्योगले किसानको भुक्तानी भने गरेको छैन् ।
जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशङ्कर चिनी उद्योग हरिवनले भने उखु क्रसिङ गरिरहेको छ । इन्दुशङ्करले २८ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
अझै दुई हप्ताजति उखु पेलेर उद्योग बन्द गरिने उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिए । देशकै ठूलो यो उद्योगले यो वर्ष ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।
इन्दुशङ्करले किसानलाई ६० करोड रुपियाँ भुक्तानि समेत गरिसकेको प्रशासन प्रमुख नेपालले बताए । उखु नपाएर चिनी उद्योग धमाधम बन्द भए पनि जिल्लामा सख्खर बनाउने क्रसर उद्योग भने चलिरहेका छन् ।
चिनी मिलले भुक्तानीमा आलटाल गर्ने भएकाले किसानले सख्खर उद्योगलाई सस्तो मुल्यमा उखु बेच्ने गरेका छन् । सरकारले यस वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६१० रुपियाँ कायम गरेको छ ।