logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

स्ववियु निर्वाचनका लागि सर्लाहीका ३ क्याम्पसमा २१ विद्यार्थी संगठन दर्ता


  • उज्यालो अभियान

लालबन्दी – आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि सर्लाहीका ३ वटा क्याम्पसमा शुक्रबार शान्तिपूर्णरुपमा विद्यार्थी संगठनले नाम दर्ता गराएका छन् ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा ५ वटा विद्यार्थी संगठन दर्ता भएका छन् । निर्वाचन समितिका संयोजक धर्मेन्द्र अधिकारीका अनुसार जनज्योतिमा नेविसंघ, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियु, अनेरास्ववियू (एस) र समाजवादी विद्यार्थी युनियन गरी ५ वटा विद्यार्थी संगठन दर्ता भएका हुन् ।

चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय सुखपोखरीमा अनेरास्ववियु, अनेरास्ववियू (एस), अखिल क्रान्तिकारीको दुई समूह, समाजवादी विद्यार्थी युनियन, नेविसंघ र प्रेमराज जिताऊ अभियान गरी ७ विद्यार्थी संगठन दर्ता भएका निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले जानकारी दिए । यहाँ केही दिनअघि व्यवस्थापन समितिले स्ववियु चुनाव स्थगित गर्ने निर्णय गरेपनि पछि फेरि निर्वाचन तालिका सार्वजनिक गरेको थियो ।

सदरमुकाम मलंगवास्थित जिल्लाकै जेठो सर्लाही क्याम्पसमा भने ९ वटा विद्यार्थी संगठन दर्ता भएका छन् । त्यहाँ नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियसहित ९ विद्यार्थी संगठन दर्ता भएका क्याम्पस प्रमुख राजेश यादवले बताए ।

फागुन २१ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले मतदाताको नामावली प्रकाशन गर्नेछ । नामावलीमाथि फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइने तथा दाबी विरोधमाथि छानबिन गरेर त्यसैदिन बेलुका ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध र बेलुका ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय दिइनेछ र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्देशनालयले जनाएको छ ।

विद्यार्थी सङ्घ तथा सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । हरेक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ ।