logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चज क्याम्पस सुखेपोखरीमा स्ववियु चुनाव स्थगित गरिएपछि विद्यार्थी आन्दोलित


  • उज्यालो अभियान

हरिवन – चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा व्यवस्थापन समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित गरेको सूचना निकालेपछि विभिन्न विद्यार्थी संगठन आन्दोलित भएका छन् ।

त्रिभुवन विश्वविद्यालय (टियू) ले आगामी चैत ५ गते देशभरका क्याम्पसमा एकसाथ स्ववियु चुनाव तोकेको छ । तर, सुखेपोखरी क्याम्पसले भने चुनाव स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका हुन् ।

तोकिएकै मितिमा स्ववियु चुनाव गराउन माग गर्दै ४ वटा विद्यार्थी संगठनले आइतबार बिहान केहीबेर सुखेपोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम गरेका छन् । नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु (एस) र जसपा नेपाल निकट संघीय समाजवादीमा आवद्ध विद्यार्थीले राजमार्गमा चक्काजाम गर्दै स्ववियु निर्वाचनको माग राखेका हुन् ।

अनेरास्ववियु (एस) का क्याम्पस कमिटी अध्यक्ष प्रेमराज दाहालले आफू अनुकुल फर्जी विद्यार्थी भर्ना गर्न नपाउँदा केही व्यक्तिले स्ववियु चुनाव भाँड्न खोजेको बताए । अनेरास्ववियु (एस) का अध्यक्ष दाहालसहित नेविसंघ क्याम्पस समितिका सभापति विष्णु मैनाली, अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष गौतम महतो र संघीय समाजवादी क्याम्पस कमिटीकी अध्यक्ष अन्जिता भुजेलले शनिबार नै प्रेस विज्ञप्ती नै निकालेर विद्यार्थीको नैसर्गिक अधिकारमाथि हनन भएको भन्दै तुरुन्त व्यवस्थापन समितिको निर्णय सच्याई स्ववियु चुनावको वातावरण सिर्जना गर्न माग गरेका थिए ।

विद्यार्थी आन्दोलनमै उत्रिएपछि अहिले दिउँसो क्याम्पसमा सबै दलका प्रतिनिधि, विभिन्न विद्यार्थी संगठनको क्याम्पस कमिटीका अध्यक्ष र अन्य सरोकारवालालाई छलफलमा बोलाइएको क्याम्पसका अध्यक्ष बासुदेव निरौलाले उज्यालो अभियानसँग बताए । उनले विद्यार्थी सङ्गठनबीचको कलहका कारण असहजस्थित सिर्जना भएकाले व्यवस्थापन समितिको बैठकबाट तत्कालका लागि स्ववियु चुनाव रोक्ने निर्णय भएको बताएका छन् ।