नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा सोमबारबाट चौँथो नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
लालबन्दी नगरपालिकाको आयोजना तथा जनता माध्यमिक विद्यालय नवलपुरको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नवलपुरस्थित खेल मैदानमा सोमबार मध्यान्ह सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले उद्घाटन गरेका हुन् ।
मेयर बासुदेव अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर कल्पनामाया पाख्रिन, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख, विद्यालयका प्रधानाध्यापक, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख शान्तराम कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख इश्वर कार्कीलगायतको आतिथ्यता रहेको थियो । जनता मावि नवलपुरका प्रधानाध्यापक विनोदप्रसाद पौडेलले स्वागत गरेका कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक सुब्बा खत्रीले गरेका थिए ।
प्रतियोगितामा नगरभित्रका २० वटा सामुदायिक तथा संस्थागत विद्यालयले भाग लिएका छन् । बुधबारसम्म चल्ने प्रतियोगितामा विद्यालयबीच विभिन्न विधाका खेलमा प्रतिस्पर्धा गराई बिजेतालाई पुरस्कार वितरण गरी समापन गरिने कार्यक्रम संचालक एवं शिक्षक खत्रीले जानकारी दिए ।