logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मच्छिन्द्रले चुम्याे सातौँ राजर्षि जनक कपको उपाधि (फाेटाे फिचर सहित)


  • उज्यालो अभियान

बागमती – साताैं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले चुमेको छ ।

विजेता मछिन्द्र फूटबल क्लबका पदाधिकारी तथा खिलाडीलाई प्रथम शिल्ड प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र साह । (तस्बिर : उज्यालाे अभियान)

सर्लाहीको बागमतीमा आइतबार सम्पन्न फाइनल खेलमा जावलाखेल यूथ क्लबलाई २-१ गोलले पराजित गर्दै मच्छिन्द्रले राजर्षिकाे उपाधि चुमेको हो । उपाधीसँगै मछिन्द्रले १० लाख नगद हात पार्याे । उसले दाेस्राे प्रयासमा राजर्षिकाे उपाधी आफ्नाे पाेल्टामा पार्न सफल भएकाे छ । गतवर्ष छैठाैं संस्करणकाे फाईनलमा पिप्ले युवा क्लब हेटाैंडासँग पराजित हुँदा मछिन्द्र उपाधी विमुख हुन पुगेकाे थियाे । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल, कप्तान सुजल श्रेष्ठ लगायत टिमलाई प्रथम उपाधी रनिङ शिल्ड फाईनल खेल समाराेहका प्रमुख अतिथि संविधान सभा सदस्य नरेन्द्र साहले प्रदान गरे ।

फाईनल खेल सूरु गर्नका लागि फिफा रेफ्रि कविन व्यञ्जन्कारलाई फूटबल हस्तान्तरण गर्दै प्रमुख अतिथि नरेन्द्र साह । (तस्बिर : उज्यालाे अभियान)

यता हारसँगै जावलाखेल उपविजेतामै सिमित बन्याे । उसले नगद पाँचलाख रूपैंयामै चित्त बुझाउनु पर्याे । उसलाई दाेस्राे उपाधी एवं नगद पुरस्कार कार्यक्रमका विशिष्ट अतिथि हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकीले प्रदान गरे ।

उपविजेता जावलाखेल टिमलाई दाेस्राे शिल्ड र नगद पुरस्कार प्रदान गर्दै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकी । (तस्बिर : उज्यालाे अभियान)

खेलको ३० औँ मिनेटमा विमल घर्ती मगरले पेनाल्टी प्रहारलाई गाेलमा परिणत गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । अभिषेक गुरुङलाई जावलाखेलका खेलाडीले डिबक्सभित्र लडाएपछि फिफा रेफ्रि कविन व्यञ्जन्कारले मछिन्द्रलाई पेनाल्टीकाे अवसर दिएका हुन् ।

उदियमान खेलाडी घाेषित बागमती युवा क्लबका अभिषेक वाईबालाई माेटरसाईकलकाे चाबी हस्तान्तरण गर्दै बागमती नगरपालिकाका मेयर भरत कुमार थापा । (तस्बिर : उज्यालाे अभियान)

खेलको ५३ औँ मिनेटमा कप्तान सुजल श्रेष्ठले दोस्रो गर्दै मछिन्द्रकाे जीत सुनिश्चित गरे । सौरभ लिम्वुको प्रहारमा जावलाखेलका गोलरक्षक अनिस देउलाको हातबाट रिवाउन्ड भएर आएको बललाई सुजलले सशक्त प्रहार गर्दै जाली चुमाउन सफल भए ।

प्रतियाेगिताकै सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका बागमती युवा क्लबका सृजन गाैतम अनुपस्थित भएकाले उक्त क्लबका उपाध्यक्ष रामकुमार थापा नगद ५१ हजार र उपाधी बुझ्दै । (तस्बिर : उज्यालाे अभियान)

अत्यन्त प्रतिष्पर्धात्मक रहेकाे खेलमा जावलाखेलका अग्रपंक्तिका खेलाडीले पटक-पटक गाेलपाेष्ट आक्रमण गरेपनि गाेल फर्काउन भने सकेनन् । खेलको ८४ औँ मिनेटमा जावलाखेलले एक गोल फर्कायो । मध्यान्तरपछि मैदान प्रवेश गरेका विनोद केसीले गोल गरेका हुन् । दिवाकर चौधरीले गोलरक्षक विशाल श्रेष्ठलाई दिएको गलत पासलाई सदूपयोग गर्दै विनोदले गोल गरेका हुन् । बराबरीका लागि अथक प्रयास गरेपनि राम्रा अवसरलाई गाेलमा परिणत गर्न नसक्दा जावलाखेल अभागी बन्याे ।

वेष्ट स्ट्राईकर घाेषित भएका मछिन्द्रका विमल घर्ति मगरलाई पुरस्कृत गरिँदै । (तस्बिर : उज्यालाे अभियान)

आइतबारको खेलमा मच्छिन्द्रका सुजल श्रेष्ठले म्यान अफ दि म्याच घाेषित हुँदै १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्दै बागमतीका सिर्जन गौतमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका विमल घर्ती मगर, उत्कृष्ट डिफेण्डर जावलाखेलका कप्तान सिमान्त थापा, उत्कृष्ट मिडफिल्डर जावलाखेलका समिराज ठोकर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ र उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुवाल बनेका छन् । म्याच कमिश्नर सागर मैनालीका अनुसार उनीहरुले जनही २५-२५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाललाई उत्कृष्ट प्रशिक्षकाे रुपमा पुरस्कृत गरिँदै । (तस्बिर : उज्यालाे अभियान)

त्यसैगरी, बागमती युवा क्लबले आफ्नो क्लबका उदयीमान खेलाडी घोषित गर्दै अभिषेक वाइवालाई दुई सय सीसीको एनएस पल्सर मोटरसाइकल प्रदान गरेको छ । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले वाईबालाई माेटरसाईकलकाे चाबी हस्तान्तरण गरे । स्थानीय खेलाडीलाई प्राेत्साहन दिने उद्देश्यले आयाेजककाे तर्फबाट हरेक वर्ष सर्लाहीका खेलाडीलाई एक थान माेटरसाईकल दिँदै आएकाे छ ।

वेष्ट मिडफिल्डरकाे रुपमा जावलाखेलका समिराज ठाेक्करलाई पुरस्कृत गरिँदै । (तस्बिर : उज्यालाे अभियान)

फाईनल कार्यक्रम आयाेजक बागमति युवा क्लबका अध्यक्ष किस्मत मैनालीकाे अध्यक्षता तथा संविधान सभा सदस्य नरेन्द्र साहकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने प्रदेश सभा सदस्य समिर भट्टराई, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकी, अखिल नेपाल फूटबल संघ मधेश प्रदेश अध्यक्ष नेपाल कार्की, बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी माेक्तान लगायतकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । प्रमुख अतिथि साहले पानसमा बत्ति बालेर तथा रेफ्रिलाई फूटबल हस्तान्तरण गर्दै फाईनल खेलकाे उद्घाटन गरेका थिए ।

वेष्ट डिफेण्डरकाे रुपमा जावलाखेलका कप्तान सिमान्त थापालाई पुरस्कृत गरिँदै । (तस्बिर : उज्यालाे अभियान)

गत माघ २५ गतेदेखि जारी प्रतियाेगितामा मछिन्द्र र जावलाखेल सहित आयाेजक बागमती युवा क्लब, भारतकाे दार्जिलिङ स्थित युनाईटेड खर्साङ फूटबल क्लब, धरान फूटबल क्लब, साविक विजेता पिप्ले युवा क्लब, नव जन जागृति फूटबल क्लब सिमरा, सुदूरपश्चिम-११ धनगढी, नेपाल पुलिस क्लब, एपीएफ फूटबल क्लब, सीएमजी संकटा क्लब र चर्च ब्वाईज युनाईटेड ललितपुर गरि १२ वटा टिमले सहभागिता जनाएकाे आयाेजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए । वागमती युवा क्लब र बागमती नगरपालिकाकाे आयाेजना रहेकाे प्रतियाेगितामा यसपटक भने हरिवन नगरपालिकाले समेत सह-आयाेजककाे रुपमा हात हालेकाे छ ।