सासापुर – सर्लाहीको हरिवन नगरपालिका–४, स्थित सासापुर स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १ दिन निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गर्न सुरु गरिएको छ ।
शनिबार पहिलो पटक दिर्घायु गुरु अस्पताल चाबहिल, काठमाडौँबाट आएका फिजिसियन तथा बाथरोग विशेषज्ञ डाक्टर नरेन्द्रप्रसाद मैनालीबाट निःशुल्क सेवा दिइएको हो । अब प्रत्येक महिनाको पहिलो आइतबार यसरी विशेषज्ञ चिकित्सक ल्याएर नगरवासीलाई निःशुल्क औषधि उपचार गर्ने अभियान सुरु गरिएको हरिवन नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।

नगर अस्पतालको रुपमा विकास गरिँदै लगिएको सासापुर स्वास्थ्य चौकीमा एक महिनामा १ पटक एक जना विशेषज्ञ चिकित्सक अनिवार्य र त्यसको अलवा कम्तीमा पनि ३ महिनामा अरु विशेषज्ञ चिकित्सक पनि ल्याउनका लागि नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले पहल गरिरहेका स्वास्थ्य शाखाका संयोजक चौधरीले बताए । उनले शनिबार पहिलो पटक महिनाको पहिलो शनिबार निःशुल्क विशेषज्ञ सेवा प्रदान गरिए पनि चैतदेखि भने पहिलो आइतबार डाक्टर बोलाइने बताए ।
शनिबार डाक्टर मैनालीबाट ३७ जना पुरुष र ४३ जना महिला गरी ८० जनाले सेवा लिएका छन् । उनीहरुले ल्याब बाहेक उपचार र औषधि सेवा निःशुल्क पाएका छन् ।