चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि विद्युतीकरणमार्फत किसानको खेत सिँचाई गर्दा उठ्ने विद्युत् महसुल तिरिदिने भएको छ ।
गाउँपालिका भरीका सम्पूर्ण किसानले कृषि विद्युतीकरणमार्फत खेत सिँचाई गर्दा उठेको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने भएको हो । त्यसका लागि गाउँपालिका कार्यालयले सातवटै वडामा विद्युत् मिटर जडान अभियान सञ्चालन गर्ने तयारी गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गएको पुस २९ गते सम्पन्न १२ औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाई गर्दा उठेको महसुल रकम गाउँपालिकाले एकमुष्टमा तिरिदिने निर्णय गरिएको जानकारी दिए । सिँचाई क्षेत्र विस्तार भएर खेतखेतमा सहज सिँचाई उपलब्ध भएमा कृषि उत्पादन बढ्ने र किसानले गर्दै आइरहेको आम्दानीमा वृद्धि हुने ठानी विद्युत् महसुल गाउँपालिकाले बेहोर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष महतोले बताए ।
“यो निर्णयबाट सम्पूर्ण किसानको खेतमा सिँचाई पुग्ने अपेक्षा गरेका छौँ,” गाउँपालिका अध्यक्ष महतोले भने, “खेतिप्रति किसान आकर्षित हुन र कृषि उपज उत्पादनमा लाग्ने लागत घटोस् भन्ने हाम्रो उद्देश्य हो ।” चन्द्रनगरमा पोखरी समेत धेरै छन् ।
ती पोखरीका लागि प्रयोग हुने विद्युत् व्यावसायिक प्रयोजनका लागि हुने र उद्योग अन्तर्गत पर्ने भएकाले पोखरीमा जडान गरिएको विद्युत् मिटरको महसुल भने पोखरी मालिक वा पोखरी ठेक्का लिएकार ठेकेदार स्वयंले तिनुपर्ने गाउँसभाबाट निर्णय गरिएको छ । विद्युत् मिटरका लागि किसान समय, खर्च र हैरानी सहेर सदरमुकाम मलङ्गवासम्म धाउन नपरोस् भनी नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रसँग समन्वय गरी गाउँपालिका कार्यालयमा नै फाराम भरेर बुझाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष महतोले बताए ।
महतोका अनुसार गाउँपालिकाले नै किसानको फाराम प्राधिकरणमा लगेर मिटर जडान अभियान सञ्चालन गर्ने तयारी छ । चालू आर्थिक वर्ष २०७९/८० मा कृषि विद्युतीकरणका लागि गाउँपालिकाले एक करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
३८ हजार भन्दा बढी जनसङ्ख्या रहेको चन्द्रनगर गाउँपालिकामा ९९ प्रतिसत जनसङ्ख्या किसानको छ । दुई वर्षअघि नै गाडेर अलपत्र रहेको विद्युतको पोल तथा तार र ट्रान्सफर्मरमा विद्युत् लाइन सञ्चालनमा ल्याएर गाउँपालिकाले निःशुल्क बिजुली उपलब्ध गराउने तयारी गरेपछि किसान खुसी भएका छन् ।
चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जका किसान पुनित महतोले डिजेलबाट पप्पसेट चलाइ सिँचाई गर्दा निकै महँगो परिरहेका बेला गाउँपालिकाले निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गर्दा खुसी लागेको बताए । “अहिले महँगो डिजेल प्रयोग गरेर सिँचाई गर्नुपर्दा हामीलाई धेरै मर्का परिरहेको छ, अब गाउँपालिकाले मिटरको निःशुल्क सुविधा दियो भने हामी किसानलाई फाइदा पुग्छ,” महतोले भने ।
डिजेलबाट एक पटकमा १० कठ्ठा सिँचाई गर्दा एक हजार रुपियाँ खर्च हुने महतोले बताए । मलखाद, जन सबै महँगो भइरहेका बेला गाउँपालिकाले निःशुल्क विद्युत् उपलब्ध गराउँदा आफूहरुलाई ठूलो राहत मिल्ने अर्का किसान रामदिनेश साहले बताए ।