बागमती – सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र जावलाखेल यूथ क्लबले खेल्ने भएका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम–११ धनगढीलाई ६–२ गोलले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले फाइनलमा जावलाखेलसँगको भेट पक्का गरेको हो । जावलाखेल बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सङ्कटा क्लबमाथि १–० को कठीन जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो ।
शुक्रबार बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा मोफसलको सुदूरपश्चिम–११ गत वर्षको सहीद स्मारक एक डिभिजन लिगको बिजेता मच्छिन्द्रसामु निरीह देखियो । राष्ट्रिय टिमका खेलाडीको बर्चश्व रहेको मच्छिन्द्रले सुदूरपश्चिम–११ विरुद्ध गोलको वर्षा नै ग¥र्यो ।
मध्यान्तरसम्म ४ गोलले अघि रहेको मच्छिन्द्रले खेलको दोस्रो हाफमा थप दुई गोल गर्दै सुदूरपश्चिम–११ को गोलपोष्टमा आधा दर्जन गोल गर्न सफल भएको हो । खेल सुरु भएको ६ मिनेटमै दयानन्द सिंहको गोलमा मच्छिन्द्रले अग्रता बनायो । सिंहले विमल घर्ती मगरको पासमा टिमका लागि सुरुवात गोल गरेका हुन् । त्यसको सात मिनेटपछि अर्थात् खेलको १३ औँ मिनेटमा मच्छिन्द्रका लागि विजय भुजेलले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
खेलको ३६ औँ मिनेटमा मच्छिन्द्रका देवेन्द्र तामाङले तेस्रो गोल गरे । सुदूरपश्चिम–११ का खेलाडीले मच्छिन्द्रका विमल घर्ती मगरलाई डिबक्स बाहिर लडाएपछि पाएको फ्रिकिक बललाई देवेन्द्रले सोझै जाली चुमाए । त्यसको चार मिनेटपछि नै अर्थात् खेलको ४० औँ मिनेटमा मछिन्द्रका पुजन उपरकोटीले डिबक्सबाहिरबाट प्रहार गरेको बललाई जाली चुमाउँदै टिमको गोल सङ्ख्या ४ पु¥याए ।
खेलको ५१ औँ मिनेटमा मच्छिन्द्रका खेलाडीले सुदूरपश्चिम–११ का फागुराम थारुलाई लडाएपछि सुदूरपश्चिम–११ ले पेनाल्टी पायो । सो पेनाल्टीलाई सदुपयोग गर्दै थारुले सुदुरपश्चिम–११ का लागि पहिलो गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।
खेलको ६२ औँ मिनेटमा मच्छिन्द्रका लागि उत्सव राईको पासमा दिपेश घलेले टिमका लागि पांचौँ गोल गरे । सुदूरपश्चिम–११ का लागि खेलको ७४ औँ मिनेटमा गगनदीप सिंहको पासमा भरत टमाटाले हेडमार्फत दोस्रो गोल गरे । खेलको ८५ औँ मिनेटमा मछिन्द्रले छैठौँ गोल ग¥र्यो । यो पटक उत्सव राईको पासमा विमल घर्ती मगरले गोल गरेका हुन् ।
शुक्रबारको खेलमा मच्छिन्द्रका विमल नै म्यान अफ दी म्याद बन्दै १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल पर्सी आइतबार हुने छ ।
बागमती युवा क्लब र बागमती नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।