logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजर्षि जनक कप : आज मछिन्द्र र सुदूरपश्चिमबीच दाेस्राे सेमिफाईनल खेल हुँदै


  • उज्यालो अभियान

कर्मैया – सर्लाहीको बागमतीमा जारी साताैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत आज (शुक्रबार) मछिन्द्र फूटबल क्लब काठमाडाैं र सुदूरपश्चिम-११ धनगढी बीच दाेस्राे सेमिफाईनल खेल हुँदैछ ।

बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुने खेल ठिक ३ बजे सूरु हुने म्याच कमिस्नर सागर मैनालीले जानकारी दिए । साेझै बाई पाएर क्वाटरफाईनलमा आयाेजक बागमती युवा क्लबलाई हराउँदै मछिन्द्र र पाहुना टाेली दार्जिलिङ एवं चर्च ब्वाईज युनाईटेड ललितपुरलाई हराउँदै सुदूरपश्चिम अन्तिम चारमा आईपुगेकाे हाे ।

दाेस्राे संस्करण विजेता सुदूरपश्चिम त्यसयता निरन्तर राजर्षि जनक कप फूटबल प्रतियाेगितामा सहभागि भईरहेकाे आयाेजक क्लबका सचिब कुमार प्रधानले जानकारी दिए । अघिल्ला लगातार दुई संस्करण ए डिभिजन लिग विजेता मछिन्द्र गत वर्षबाट मात्र राजर्षिमा सहभागि हुन थालेकाे हाे ।गत वर्ष फाईनलमा पिप्ले युवा क्लब हेटाैंडासँग सडनडेथमा पराजित हुँदै उपाधी चुम्न नपाएकाे मछिन्द्र यसपटक जसरी पनि फाईनल पुगेर राजर्षिकाे क्याप भित्र्याउने दाउमा छ । चर्चित स्ट्राईकर विमल घर्ती मगर, सुजल श्रेष्ठ लगायत नेपाली राष्ट्रिय टिमका खेलाडीले भरिभराउ मछिन्द्र लिग फूटबलमा लगातार दुईपटक च्याम्पियन बनेपनि नकआउटकाे क्याप भित्र्याउने हाेडमा भने तुलनात्मक रुपमा पछि पर्दै आएकाे छ ।

माेफसलकाे चर्चित अनि नेपालकै सबैभन्दा ठूलाे धनराशीकाे सुदूरपश्चिम गाेल्डकप आयाेजना गर्दै आएकाे सुदूरपश्चिम-११ पनि दाेस्राे पटक राजर्षिकाे उपाधी चुम्नका लागि लालायित छ । त्यसका लागि उसले आज मछिन्द्रलाई जसरी पनि हराउँदै फाईनल यात्रा तय गर्नुपर्नेछ ।

आजकाे खेल जित्ने टिम उपाधी नजिक त पुग्ने नै छ, कम्तिमा ५ लाख रूपैंयाकाे भने पक्का हकदार बन्ने छ । त्यसैले पनि आजकाे खेलमा दुवै टिमका खेलाडीलाई जित निकाल्नै पर्ने दबाब छ । आजकाे जित्ने टिमले उपाधीका लागि विहिबार सम्पन्न पहिलाे सेमिफाईनलकाे विजेता जावलाखेल युथ क्लब ललितपुरसँग भिड्नु पर्नेछ ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सहित १२ वटा टिमले भाग लिएका छन् । जसमध्ये एपीएफ क्लब, युनाईटेड खर्साङ फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटाैंडा, नेपाल पुलिस क्लब, धरान फूटबल क्लब, चर्च ब्वाईज युनाईटेड क्लब ललितपुर, आयाेजक बागमती युवा क्लब, नव जन जागृति फुटबल क्लब सिमरा, सीएमजी संकटा फूटबल क्लब प्रतियाेगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाकाे संयुक्त आयाेजना रहेकाे प्रतियाेगिताकाे फाईनल खेल भने फागुन ७ गते हुनेछ ।