logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आयोजक बागमतीमाथि मछिन्द्रको संघर्षपूर्ण जित 


  • उज्यालो अभियान

बागमती – गत वर्षको ए डिभिजन लिग बिजेता मछिन्द्र फुटबल क्लब आयोजक बागमती युवा क्लब सर्लाहीमाथि कठीन जित निकाल्दै सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा आयोजक बागमती युवा क्लबलाई बुधबार ट्राइब्रेकरमा ५–३ गोलले पराजित गर्दै मछिन्द्र क्लब अन्तिम चारमा प्रवेश गरेको हो । खेलको निर्धारित समय र अतिरिक्त २० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत खेलको नतिजा निकालिएको हो ।

ट्राइब्रेकरमा पहिलो प्रहार गरेका बागमतीका देवा गुरुङ गोल गर्नबाट चुक्दा बागमती पराजित हुन पुग्यो । देवाको प्रहारलाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोक्न सफल भएका हुन् ।

मछिन्द्रको तर्फबाट कप्तान सुजल श्रेष्ठसहित विमल घर्ती मगर, पुजन उपरकोटी, देवेन्द्र तामाङ र दिवाकर चौधरीले गोल गरे । आयोजक बागमतीका तर्फबाट भने कप्तान सुमन चाम्लिङ राई, अमर श्रेष्ठ र अभि लामाले मात्रै गोल गरे ।

मछिन्द्रविरुद्ध अग्रता जोगाएर खेल्न नसक्दा बागमतीले हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनुपरेको छ । खेलको ५१ औँ मिनेटमा डिबक्स नजिकै कप्तान सुमन चाम्लिङ राईको पासमा राज भुषालले गोल गर्दै बागमतीलाई अग्रता दिलाए ।

मछिन्द्र खेलको ८० औँ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । कप्तान सुजल श्रेष्ठले प्रहार गरेको कर्नर बलमा देवेन्द्र तामाङले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बुधबारको खेलमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ म्यान अफ दि म्याच बन्दै १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय खेलाडीले भरिपूर्ण ए डिभिजन क्लब मछिन्द्रलाई सि डिभिजनको क्लब बागमतीले निर्धारित र अतिरिक्त समयसम्म बराबरीमा रोक्न सफल भयो । ट्राइब्रेकरमा भने बागमती अभागी साबित भयो ।

मछिन्द्रले अब फाइनल प्रवेशका लागि आगामी सुक्रबार सूदुरपश्चिम–११ धनगढीसँग खेल्ने छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बिहीबार संकटा क्लब र जावलाखेल यूथ क्लबले खेल्ने छन् । फाइनल खेल फागुन ७ गते हुने छ ।

बागमती युवा क्लबले आयोजना गरेको मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।