logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजर्षि जनक कप : संकटाको अगाडी सिमरा निरिह


  • उज्यालो अभियान

बल आफ्नो नियन्त्रणमा लिने प्रतिष्पर्धा गर्दै संकटा (सेतो जर्सी) र सिमराका खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमती स्थित सन्तोष श्रेष्ठ स्मृति खेलम मैदानमा जारी सातौं राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा सीएमजी संकटा क्लब काठमाडौंले मोफसलको नव जन जागृति फूटबल क्लब सिमरालाई ३–० गोलले सहजै पराजित गरेको छ ।

बाई पाएर सोझै क्वाटरफाईनल खेलेको ए डिभिजन क्लब संकटा जीतसँगै प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्ने तेस्रो टिम भएको छ । नेपाली राष्ट्रिय टिमका खेलाडीहरु सुनिल बल, आयुष घलान, मनिष डाँगी, सुरजन ज्यू ठकुरी र निशान खड्का तथा पूर्व राष्ट्रिय खेलाडीहरु सरोज दाहाल, कुलदिप कार्की रहेका संकटाको अगाडी प्रि–क्वाटरफाईनलमा विभागीय नेपाल पुलिस क्लबलाई सडनडेथमा पराजित गरेको मोफसलको जनजागृति निरिह बन्न पुग्यो ।

संकटाका लागि खेलको ३५ औं मिनेटमा आयुष घलानले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने ४३ औं मिनेटमा गणेश हमालले अर्को गोल थप्दै खेललाई २–० मा पुर्याए । खेलको ६० औं मिनेटमा संकटाका मनिष डाँगीले गोल गर्दै टिमको जीत सुनिश्चित गरे ।

सिमराका खेलाडीले पनि पटक–पटक संकटाको गोलपोष्टमा सशक्त प्रहार गरेपनि क्रसबारमा लागेर बल फर्कदा गोलको खाता खुल्न सकेन । सिमराको दुईवटा सशक्त प्रहार संकटाको गोलपोष्टको क्रसबारमा लागेर फर्किएको थियो । सिमराका खेलाडीहरुले अन्तिमसम्म अथक प्रयास गरेपनि सान्त्वना गोल समेत गर्न सकेनन् । बल पोजिसन हेर्दा एकजना अफ्रिकन मूलका सहित राष्ट्रिय टिमका खेलाडी समेत उतारेको संकटा खेल अवधिभर सिमरामाथि हाबी देखिन्थ्यो ।

खेलको म्यान अफ दि म्याच घोषित हुँदै संकटाका मनिष डाँगीले नगद १० हजार रुपैंया हात पारे । त्यस्तै सिमराका रोहन मगरलाई पनि उत्कृष्ट खेलेको भन्दै प्रोत्साहन स्वरुप पाँचहजार नगद सहित पुरस्कृत गरिएको आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।

जारि सिजनमा २२औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुमिसकेको संकटा राजर्षि जनक कपको उपाधी समेत चुम्ने प्रतिष्पर्धामा सशक्त देखिएको छ । अब संकटाको भेट आगामी विहिबार ए डिभिजनकै जावलाखेल युथ क्लब सँग हुनेछ । बुधबारको अन्तिम क्वाटरफाईनल खेल भने ए डिभिजनको मछिन्द्र क्लब र आयोजक बागमती युवा क्लबबीच हुनेछ ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा आयोजक बागमती युवा क्लब सहित १२ वटा टिमले भाग लिएका छन् । जसमध्ये एपीएफ क्लब, युनाईटेड खर्साङ फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटौंडा, नेपाल पुलिस क्लब, धरान फूटबल क्लब, चर्च ब्वाइज क्लब ललितपुर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजना रहेको प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ ।