logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजर्षि जनक कपको शिल्ड पचाउने पिप्लेको योजना ‘भताभुंग’ !


  • उज्यालो अभियान

फाइल तस्बीर ।

– टंक बहादुर क्षेत्री/उज्यालो अभियान
बागमती, माघ २९ – लगातार दुई वर्षदेखि राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधी चुमेको पिप्ले युवा क्लब हेटौंडा यसवर्ष भने पहिलो प्रतिष्पर्धामै पराजित भएको छ । सर्लाहीको बागमतीमा आयोजित राजर्षि जनक कप फूटबल प्रतियोगिता अन्तर्गत आईतबार दिउँसो भएको पहिलो क्वाटरफाईनल खेलमा निरन्तर दुई वर्षदेखिको विजेता पिप्ले जावलाखेल युथ क्लब जावलाखेलसँग ३–२ गोलले पराजित भएको हो । पिप्लेको हारमा खेलका फिफा रेफ्रि श्याम दनुवारले समेत ‘केही भुमिका खेलेको’ स्पष्ट देखिएको छ । अम्पाएरको भूमिकाका ‘कारण पनि’ आईतबारको खेल जित्दै सेमिफाईनल प्रवेश गरेर उक्त जीत सहित फाईनल खेल समेत जित्दै राजर्षिको शिल्ड ‘पचाउने’ पिप्लेको योजनामा तुषारापात लागेको छ ।

साबिक विजेता पिप्लेलाई ३–२ गोलले पराजित गर्दै जावलाखेल यूथ क्लब सातौँ राजर्षि जनक कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीस्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा साबिक बिजेता हेटौंडामाथि जित निकाल्दै ललितपुरे क्लब जावलाखेल अन्तिम चारमा प्रवेश गरेको हो । जावलाखेल यूथ क्लबले खेलको १५ औँ मिनेटमा विशाल तामाङको गोलबाट अग्रता बनायो । सुमन लिम्बुले प्रहार गरेको फ्रिकिक बललाई तामाङले सदूपयोग गर्दै जाली चुमाए ।

मध्यान्तरसम्म १–० ले पछि परेको पिप्लेले खेलको ६२ औँ मिनेटमा बराबरी गोल फर्कायो । पिप्लेका लागि विवश उराऊको पासमा विश्व लामाले गोल गर्न सफल भए । लगत्तै जावलाखेलका लागि ६८ औँ मिनेटमा समिराज ठोकरको पासमा विनोद केसीले दोस्रो गोल गर्दै अग्रता फेरि बढाए ।

खेलको इन्जुरी समयमा जावलाखेलका लागि हिसुब थपलियाले टिमका लागि तेस्रो गोल गर्न सफल भए । त्यसको केही मिनेटमै पिप्लेका खेलाडीलाई जावलाखेलका खेलाडीले डिबक्स नजिकै लडाएपछि पिप्लेले फ्रिकिक पायो । सो फ्रिकिकलाई सदूपयोग गर्दै पिप्लेका डोना थापाले सुन्दर गोल गर्न सफल भए । उक्त फ्रि किक गोल पश्चात सूरु भएको खेललाई केही समय पश्चात नै अम्पाएरले खेल सिद्धिएको सिठ्ठी फुकेपछि अन्ततः लगातार दुई वर्षदेखि उपाधी चुम्दै आएको पिप्ले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । आईतबारको खेलमा म्यान अफ दि म्याच भने विजेता जावलाखेल युथ क्लबका कप्तान सिमान्त थपा घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनल खेल सुदूरपश्चिम–११ धनगढी र ए डिभिजनको नवप्रवेशी चर्च व्वाइज फुटबल क्लब ललितपुरबीच हुने छ । सुदूरपश्चिम–११ ले पहिलो खेलमा पाहुना टोली खार्साङ फुटबल क्लब दार्जिलिङलाई हराएको थियो भने चर्च व्वाइजले सोझै बाइ पाएर क्वाटरफाइनलमा खेल्न लागेको हो ।

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा फागुन ७ गतेसम्म हुने मधेश प्रदेशकै सर्वाधिक राशीको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पिप्लेले हार्दा आयोजकमा ‘खुशियाली’, अम्पाएर दनुवार पनि पिप्लेको विपक्षीमा !

लगातार दुई वर्षदेखि राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधी चुम्दै आएको पिप्ले युवा क्लब हेटौंडा जारी सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा पराजित भएको छ । निरन्तर दुई वर्षदेखि पिप्लेको समर्थक बन्दै आएका आयोजक क्लबका पदाधिकारीहरु आईतबार पिप्लेले हार्दा दंग देखिन्थे । आयोजक क्लबका एक पदाधिकारी भन्दै थिए, ‘यो पटक चाँही पिप्लेले उपाधी नजिते हुन्थ्यो ।’ यो पटक पनि पिप्लेले जित्यो भने शिल्ड पचाउँछ र अर्को शिल्ड तयार पार्न झण्डै २० लाख रुपैंया हाराहारी लाग्ने उनको दुःखेसो थियो । किनभने आईतबार जावलाखेल विरुद्धको खेल जितेर पिप्ले सेमिफाईनल पुगे, फाईनल प्रतिष्पर्धा हुँदै पुनः उपाधी चुम्ने खतरा आयोजकका पदाधिकारीमा देखिन्थ्यो ।

‘सुन र चाँदीको जलप सहित यो शिल्ड तयार पार्न झण्डै पाँच लाख रुपैंया लागेको थियो’, बागमती युवा क्लबका ती पदाधिकारीले भने, ‘सात वर्षअघि तयार पारिएको यो शिल्ड जस्तै अहिले बनाउनु पर्दा २० लाख हाराहारी लागत लाग्छ, अनि पिप्लेले पचायो भने त कसरी अर्को शिल्ड तयार पार्नु ।’ आयोजक बागमती युवा क्लबलाई सुन र चाँदीको जलप सहितको उक्त शिल्ड केही समयअघि सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेर पराजित भएका नरेन्द्र साहले दिएका हुन् ।

यो पटक फाईनल प्रतिष्पर्धा जितेपछि पिप्लेले राजर्षि जनक कपको शिल्ड नै पचाउँछ भन्ने थाहा नहुने अधिकांश समर्थकहरु भने पिप्लेका समर्थकको रुपमा देखिएका थिए । आईतबारको खेलमा उपस्थित दर्शकहरु जावलाखेलको भन्दापनि पिप्लेको समर्थकको रुपमा बढी देखिएका थिए ।

आईतबार पिप्ले युवा क्लब हेटौंडा र जावलाखेल युथ क्लब जावलाखेल बीच भएको खेल अत्यन्त प्रतिष्पर्धात्मक थियो । दुवै टिमको तर्फबाट निरन्तर पालैपालो पोष्ट आक्रमण भईरहेको थियो । खेल खेलाईरहेका फिफा रेफ्रि श्याम दनुवार पनि आयोजकको चाहना अनुसार नै पिप्लेको ‘विपक्ष’मा रहेको जस्तो उनको खेलाईले आभास दिईरहेको थियो । पिप्लेका खेलाडीले गरेको स–साना गल्तीमा पनि फल दिने अम्पाएर दनुवारले जावलाखेललाई भने बोनस दिनमा भरपुर लागेका थिए । जावलाखेलका खेलाडीले गरेको गल्तीमा अम्पाएर दनुवारले ह्वीसिल नबजाउँदा दर्शक दिर्घाबाट पटक–पटक आएको हुटिङ त्यसको स्पष्ट साक्षी थियो ।

पिप्लेका खेलाडीले जहाँसुकै गरेको स–सानो गल्तीमा पनि जावलाखेललाई फ्रि किकको अवसर दिने अम्पाएर दनुवारले जावलाखेलका खेलाडीले आफ्नो डिबक्स भित्र गरेको गम्भिर गल्तीमा पनि पिप्लेलाई ‘पूरै माईनस’ गरेको आभास दर्शक दिर्घाबाट आएको आवाजले स्पष्ट हुन्थ्यो । त्यसमा अझ पिप्लेका प्रशिक्षक सुविन घिमिरे र उक्त टिमबाट खेलिरहेका खेलाडीहरुको अपिल सहित असन्तुष्टिले जो कोही स्पष्ट हुन्थे । जावलाखेलको डिबक्स भित्र गोल गर्न तम्तयार पिप्लेका खेलाडीलाई पछाडीबाट ट्रयाकल हानेर लडाउँदा होस् वा जावलाखेलका खेलाडीको हातमा बल लागेर फल होस् ती सबै अवसरबाट पिप्लेलाई पेनाल्टी शुटआईटबाट बञ्चित गराउन अम्पाएर दनुवारले आँखा चिम्लिदिएको उपस्थित दर्शक तथा पिप्लेका प्रशिक्षक एवं खेलाडी र अफिसियलहरुको अपिल अनि आक्रोशले सबैलाई ‘दालमे कुछ काला है’ भन्ने आभास त हुन्थ्यो नै । फेरि संयोग पनि कस्तो भने विगतमा बागमती युवा क्लबको टिम सम्हालेका सुनिल श्रेष्ठ नै यो पटक जावलाखेल युथ क्लब जावलाखेलको प्रशिक्षक रहेका छन् ।