सन्जु कर्ण, बागमती – आयोजक बागमती युवा क्लबले ७ औँ राजर्षि जनक कप फुटबलमा शनिबार धरान फुटबल क्लबमाथि सानदार जित निकालेको छ ।
आफ्नै घरेलु मैदान सर्लाहीको बागमतीस्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा आयोजित प्रतियोगितामा बागमतीले धरानलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन आएको धरानमाथि आयोजक बागमतीले गोलको वर्षा नै गर्यो ।
आयोजक बागमतीले १३ औँ मिनेटमा विमल घिसिङको गोलबाट खेलमा अग्रता बनायो । सिर्जन गौतमले दिएको क्रस पासलाई विमलले सदूपयोग गर्दै बललाई जाली चुमाउन सफल भए ।
खेलको ४१ औँ मिनेटमा धरानका गोलरक्षक आशिक कार्की अगाडि बढेको मौकामा सिर्जन गौतमले बागमतीका लागि दोस्रो गोल गरे । त्यसको तीन मिनेटपछि नै बागमतीका सिर्जनले आफ्नोतर्फबाट व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै खेललाई ३–० को स्थितिमा पुर्याए ।
मध्यान्तरसम्म ३–० ले पछि परेको धरानले खेलको ५४ औँ मिनेटमा आत्मघाती गोल ग¥र्यो । सिर्जन गौतमले प्रहार गरेको बल रोक्न खोज्दा धरानका सुरज वि.क. आत्मघाती गोल गर्न पुगे ।
खेलको ६१ औँ मिनेटमा बागमतीका खेलाडीले धरानका खेलाडीलाई डिबक्सभित्र लडाएपछि धरानले पेनाल्टी पायो । सो पेनाल्टीलाई सदूपयोग गर्दै धरानका दोर्जे तामाङले गोल गर्दै खेललाई ४–१ को स्थितमा ल्याए ।
बागमतीका तर्फबाट खेलको ८२ आँैँ मिनेटमा दीपेश चाम्लिङ राईले पाचौँ गोल गरे । शनिबारको खेलमा बिजेता बागमती युवा क्लबका सिर्जन गौतम म्यान अफ दी म्याच बन्दै १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
आयोजक बागमती युवा क्लबले उत्कृष्ट खेल पस्कने गौतमलाई थप पाँच हजार र आफ्नो टिमका लागि पहिलो गोल गर्ने विमल घिसिङलाई पनि पाँच हजार रुपैयाँ नगद प्रदान गरेको छ । बागमतीले अब क्वाटर फाइनलमा फागुन ३ गते गत वर्ष प्रतियोगिताको उपबिजेता तथा गत वर्षकै ए डिभिजन लिग बिजेता मछिन्द्र फुटबल क्लबसँग खेल्ने छ ।
प्रतियोगितामा आइतबार पहिलो क्वाटरफाइनल प्रतिस्पर्धा साबिक बिजेता पिप्ले युवा क्लब हेटौँडा र जावलाखेल यूथ क्बल ललितपुरबीच हुनेछ । जावलाखेलले पहिलो खेलमा विभागिय क्लब सशस्त्र प्रहरीलाई पराजित गरेको हो भने डिफेन्डीङ च्याम्पियन पिप्ले युवा क्लब सोझै बाइ पाएर खेल्न लागेको छ ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा जारी यस प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ प्राप्त गर्ने छन् ।
यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीले २५ हजार नगद र बागमती क्लबबाट उत्कृष्ट खेल खेल्ने १ जना खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।