logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्डन डेथमा जनजागृतिसँग पुलिस पराजित


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा जारी सातौँ राजर्षि जनक कप फुटबलमा शुक्रबार नव जनजागृति फुटबल क्लब सिमरा, बाराले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

ए डिभिजन लिग फुटबलको तयारीमा रहेको विभागिय क्लब पुलिसलाई मोफसलको नव जनजागृतिले सर्डन डेथमा हराएको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त २० मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो ।

ट्राइब्रेकरमा समेत बराबरी भएपछि सर्डन डेथमा पुगेको खेलमा नेपाल पुलिस क्लबका अजित भण्डारीको प्रहार नव जनजागृतिका गोलरक्षक रोहन मगरले रोक्न सफल हुँदै टिमलाई जित दिलाए । पुलिसका भण्डारीको प्रहारलाई उत्कृष्ट बचाउ गर्न सफल सिमराका गोलरक्षक मगर नै शुक्रबारको खेलमा म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

अनुभवी खेलाडीले भरिएको ए डिभिजन क्लब पुलिसलाई निर्धारित समय र अतिरिक्त समयमा पनि गोल गर्नबाट रोकेको नव जनजागृतिले खेललाई टाइब्रेकर हुँदै सर्डन डेथमा धकेल्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । निकै जुझारु खेल पस्किएको नव जनजागृतिको तर्फबाट समिर तामाङ, सक्कल रेग्मी, निरज मगर, जनक कोइराला, कमल श्रेष्ठ र अस्मित चौधरीले गोल गरे ।

पुलिसका तर्फबाट भने सौजन याख्खा, रवी पासवान, ऋषि पिठाकोटी मगर, वुद्ध लामा र प्रताप गुरुङले मात्रै गोल गर्न सफल भए । प्रतियोगितामा शनिबार आयोजक बागमती युवा क्लब सर्लाही र धरान फुटबल क्लब धरानले प्रतिस्पर्धा गर्ने छन् ।

बागमती युवा क्लब र बागमती नगरपपालिकाको खेलकुद विकास समितिको संयुक्त आयोजनामा जारी मधेश प्रदेशकै सर्वाधिक राशीको यस प्रतियोगिताको बिजेताले १० लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छ । त्यस्तै, दोस्रो हुने टिमले नगद पाँच लाह रुपैयाँ प्राप्त गर्ने आयोजक बागमती युवा क्लबले जनाएको छ ।