बागमती – सातौं राजर्षि जनक कप फुटवल प्रतियोगिता माघ २५ गतेबाट सुरु हुने भएको छ । सर्लाहीको बागमतीमा हुने फुटवल प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
बागमती युवा क्लवको आयोजनामा माघ २५ गतेबाट सातौं पटक बागमतीमा राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक क्लवका अध्यक्ष किस्मत मैनालीका अनुसार प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भइसकेको छ । उदघाटन खेलमा विभागिय टिम एपीएफले जावलाखेल युथ क्लवसंग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो पुरस्कार १० लाख नगद तथा कप र दोश्रो पुरस्कार ५ लाख नगद रहेको प्रतियोगितामा १२ वटा टिमले प्रतिष्पर्धा गर्ने निश्चित भएको मैनालीले बताए । बागमती नगरपालिका–११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगितामा डिफेण्डिङ्ग च्याम्पियन पिप्ले युथ क्लव हेटौंडा, सुदुर पश्चिम–११, संकटा क्लव, नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लव लगायतका चर्चित क्लवहरु सहभागि छन् । प्रतियोगितामा भारत दार्जलिङको युनाइटेड किङडम क्लवले समेत सहभागिता जनाएको आयोजकले जनाएको छ ।
फागुन ७ गते हुने फाईनल प्रतिस्पर्धामा प्रथमहुने टिमले १० लाख नगद सहित सुन र चाँदी प्रयोग गरेर ४ लाख रुपैंया लागतमा निर्माण गरिएको २० किलोको कलात्मक शिल्ड चुम्न पाउने छ । ९८ लाख रुपैंया लागत अनुमान गरिएको प्रतियोगिता अन्तर्गत हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैंया तथा हरेक दिनको म्यान अफ दि म्याच घोषित खेलाडीलाई १० हजार रुपैंया प्रदानगरिने आयोजक क्लबका अध्यक्ष मैनालीले जानकारी दिए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाहीका एक खेलाडीलाई बागमती राईजीङ अफदि ईयर प्लेयर्स घोषणा सहित एक थान मोटरसाईकल समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता हेर्नका लागि दर्शकबाट प्रति खेल एक सय रुपैंया तथा सेमिफाईनल एवं फाईनल खेलमा भने २०० रुपैंयाको टिकट दर तोकिएको आयोजकले जनाएको छ । फूटबल प्रतियोगिता सम्पन्न गर्नका लागि बागमती नगरपालिका सहित विभिन्न गैरसरकारी संघ संस्था, उद्योगी, व्यापारीहरुसंग सहयोग संकलन गरिएको महासचिव सागर मैनालीले बताए । आयोजकका अनुसार विभिन्न व्यापारिक हाउसहरुले प्रायोजनमा चासो नदेखाउँदा आर्थिकरुपले समस्या भइरहेको जनाएको छ ।