logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

प्रदेश सांसद लुंगेलीको पहलमा ४ गरिब परिवारको पक्की घर निर्माण


  • उज्यालो अभियान

लालबन्दी  – मधेश प्रदेश सरकारको लगानीमा सर्लाहीको लालबन्दी नगरपालिकाभित्र अतिविपन्न चार परिवारलाई सोमबार घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्र नारायण निधी आवास योजनाबाट यहाँका अतिविपन्न चार परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । लालबन्दी ६ का वीरबहादुर क्यापछाकी, लालबन्दी ७ का बिशे राई, लालबन्दी ९ का शम्भु बलम्पाकी र लालबन्दी १७ का लक्ष्मी थापाको परिवारले पक्की घर पाएका छन् ।

चार परिवारका लागि दुई कोठाको पक्की घर, किचेन र शौचालय निर्माण गरिएको प्रदेशसभा सदस्य बेची लुङ्गेलीले जानकारी दिईन् । प्रत्येक घरमा चापाकल पनि निर्माण गरिने छ । चारवटै घरको सोमबार बिहान सर्लाही क्षेत्र नम्बर १ (ख) की प्रदेशसभा सदस्य लुङ्गेलीले उद्घाटन गरेकी हुन् ।

एक परिवारका लागि पाँच लाख ५० हजार रुपियाँ लागतमा घर निर्माण पूरा गरी हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था दयनीय रहेको तथा घाम, पानीमा ओत लाग्ने गतिलो घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहका चार गरिब परिवार पक्की घर पाएपछि खुसी भएका छन् ।

पानी चुहिने झुप्रो घरमा बस्दै आएकोमा प्रदेशसभा सदस्य लुङ्गेलीको पहलबाट पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको लालबन्दी ६ का वीरबहादुर क्याप्छाकीले बताए । महेन्द्र नारायण निधी आवास योजना अन्तर्गत दोस्रो चरणमा लालबन्दी ५, ६ र १० मा थप तीन परिवारका लागि घर निर्माण गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य लुङ्गेलीले बताईन् । अन्य निर्वाचन क्षेत्रमा घर निर्माण गर्ने योजना सम्पन्न नभए पनि आफ्नो निर्वाचन क्षेत्रमा पहिलो चरणमा चार परिवारका लागि घर निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रदेशसभा सदस्य लुङ्गेलीको भनाई छ ।

घर हस्तान्तरण कार्यक्रममा लालबन्दी ६ का वडाध्यक्ष लालकुमार योन्जन, ७ का वडाध्यक्ष कृष्ण कार्की, ९ का वडाध्यक्ष नारायण अधिकारी र १७ का वडाध्यक्ष विष्णु अधिकारीसहित कांग्रेस नेता इन्द्र योन्जन, सुरेन्द्र न्यौपाने, बिभुसिंह थापा, माओवादी केन्द्रका नेता लेखराम जर्गा मगर, नेकपा एकीकृत समाजवादीका नेता राजन काफ्ले, टङ्क काफ्ले, कपिल देवकोटा, समाजसेवी सीताराम निरौलालगायतको उपस्थिति रहेको थियो ।