हरिवन – गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट पराजित नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहले विद्यार्थीहरुलाई कापी र कलम वितरण सूरु गरेका छन् ।
साक्षरता अभियान अन्तर्गत ‘ईच वान, टिच वान’ को नारा सहित आफूले ३ नम्बर निर्वाचन क्षेत्र भरिका मावि तहका विद्यार्थीहरुलाई २ वटा कापी र एउटा कलम वितरण अभियान सूरु गरेको साहले उज्यालो अभियानलाई बताए । पहिलो दिन बुधबार बरहथवा स्थित चक्र जनता शहिद गंगा मावि, चक्रघट्टाको औरही स्थित जनता मावि र हेमपुर स्थित मावि गरि ३ वटा विद्यालयमै पुगेर साहले विद्यार्थीलाई कापी र कलम हस्तान्तरण गरेका छन् । क्रमशः क्षेत्र भरी ७५ हजार थान कपी र कलम वितरण गरिने साहले बताए । हेमपुर माविमा भने बागमती नगरपालिकाका मेयर भरत थापा समेत पुगेका थिए ।
२०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित साह २०७९ मा सत्ता गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका थिए । २ पटक चुनावमा पराजित भएपनि संविधान सभा सदस्य साहले समाज सेवाको कामलाई भने निरन्तरता दिँदै आएका छन् ।
यो पटक नेकपा एमालेबाट निर्वाचित रक्षा मन्त्री समेत रहेका हरि प्रसाद उप्रेतीसँग थोरै मतले मात्र साह पराजित भएका थिए । संजोग पनि कस्तो परेको छ भने संसद्मा विजयी हुँदै रक्षा मन्त्री समेत बनेका उप्रेती बुधबार नेपाली सेनाको हेलिकप्टरबाट बरहथवाको हिरापुरमा ओर्लिएका छन् । त्यहाँ अवतरण गरे लगत्तै उनले बरहथवा नगरपालिका–९ मूर्तियामा आएर छेठौँ मुक्तेश्वर महोत्सवको उद्घाटन गरेका छन् । रक्षामन्त्री उप्रेती अब शुक्रबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सरिक हुने छन् ।
यता उप्रेतीसँगै पराजित साहले पनि बुधबारबाटै क्षेत्रका विद्यार्थीहरुलाई कापी कलम बाँड्न सूरु गरेका छन् । साहले निरन्तर रुपमा आगलागी पीडित, विपन्न परिवार लगायतलाई घर निर्माण देखि न्यानो कपडा, स्वास्थ्य उपचार लगायतमा सहयोग गर्दै आएका छन् । बजारमा सीसी क्यामेरा राख्न होस् वा कोरोनाका बेला माक्स, सेनिटाईजर लगायत स्वास्थ्य सामग्री मात्र हैैन अटो सेनिटाईजरिङ हुने मेशिनहरु समेत स्थानीय तहरुलाई साहले उपलब्ध गराएका थिए । उनको अगुवाईमा हिरापुरमा २५ करोड लागतमा धर्मशाला, पार्क र स्टेडियम निर्माणको काम सूरु भएको स्थानीयले बताएका छन् ।