सर्लाहीबाट प्रतिनिधि सभाका समानुपातिक सांसद क्रमश : चन्दा चौधरी, सरस्वती सुब्बा र मिना यादव ।
लालबन्दी – सर्लाहीमा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट प्रतिनिधि सभामा तीन जना र प्रदेश सभामा पाँच जना निर्वाचित भएका छन् ।
निर्वाचित हुने आठै जना महिला छन् । प्रतिनिधि सभामा नेकपा एमालेबाट हरिवन नगरपालिका–९, निवासी सरस्वती सुब्बा निर्वाचित भएकी छन् ।
भूमिहिन सुकुम्वासीको पक्षमा वर्षौदेखि आवाज उठाउँदै आएकी सुब्बा आदिवासी जनजाति समूहबाट निर्वाचित भएकी हुन् । त्यस्तै, नेपाली कांग्रेसबाट कौडेना गाउँपालिका–३, निवासी चन्दा चौधरी निर्वाचित भएकी छन् ।
चौधरी चुनावको केही दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी कांग्रेसमा प्रवेश गरेकी थिईन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा १९ दिन महिला तथा बालबालिका मन्त्री बनेकी चौधरी यसअघि २०७४ मा लोसपाको तर्फबाट समानुपातिक सांसद थिईन् ।
चुनावकै मुखमा पार्टीमा भित्र्याएको कांग्रेसले चौधरीलाई मधेशी समूहबाट प्रतिनिधि सभा सदस्य बनाएको हो । त्यस्तै, सर्लाही ४ मा गठवन्धनका उम्मेदवारविरुद्ध छोरीलाई बागी उम्मेदवार उठाएको भन्दै माओवादी केन्द्रले कारवाही गरेको नेता शिवपुजन रायकी श्रीमतीलाई नै समानुपातिकबाट सांसद बनाएको छ ।
माओवादीले मधेशी कोटाबाट रातो पासपोर्ट दूरुपयोग गरेको आरोप लागेका रामनगर गाउँपालिका–५ निवासी शिवपुजनकी श्रीमती मीना यादवलाई समानुपातिक सांसद बनाएको हो । मङ्सिर ४ को निर्वाचनमा शिवपुजनले छोरी मधुमालालाई बागी उम्मेदवार उठाएका थिए ।
यहाँ स्वतन्त्र उम्मेदवार डाक्टर अमरेशकुमार सिंह निर्वाचित गठवन्धनका उम्मेदवार कांग्रेसका नागेन्द्र राय दोस्रो र मधुमाला तेस्रो भईन ।
यसैबीच, मधेश प्रदेश सभामा समानुपातिकतर्फबाट सर्लाहीमा निर्वाचित पाँच जनामध्ये तीन जना कविलासी नगरपालिकाको छन् । नेपाली कांग्रेसबाट कविलासी नगरपालिका–९, निवासी शकुन्ती देवी, जनमत पार्टीबाट कविलासी नगरपालिका–२, निवासी हसिना खातुन र जनता समाजवादी पार्टीबाट कविलासी नगरपालिका–७, निवासी विन्दुकुमारी यादव मधेश प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन् ।
शकुन्ती देवी दलित, हसिना खातुन मुस्लिम र विन्दुकुमारी यादव मधेशी समूहबाट निर्वाचित भएकी हुन् ।
त्यसैगरी, मधेश प्रदेश सभामा एक÷एक सिट प्राप्त गरेका नेपाल सङ्घीय समाजवादी पार्टीले मलङ्गवा नगरपालिका–३, निवासी बिमला अंसारी तरन्नुम र नागरिक उन्मुक्ति पार्टीले ईश्वरपुर नगरपालिका–९, निवासी उर्मिला देवी सिंहलाई मधेश प्रदेश सभा सदस्य बनाएको छ ।
सर्लाहीमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट चार जना र समानुपातिकतर्फबाट तीन जना गरी सात जना तथा मधेश प्रदेश सभामा प्रत्यक्षतर्फबाट आठ जना र समानुपातिकबाट पाँच जना गरी १३ जना निर्वाचित भएका छन् । जिल्लाबाट प्रतिनिधि सभा ७ र प्रदेश सभामा १३ गरी २० जना सांसद भएका छन् ।