हरिवन – सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले बुधबार डोङ्गा पूजा गरेको छ ।
चालु सिजनमा उद्योग सञ्चालन गर्नका लागि डोङ्गा पूजा गरेर साईत जुराइएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । बुधबार बिहान ११ बजेर ३० मिनेटको साईतमा डोङ्गा पूजा गरिएको हो ।
पूजामा उद्योगका सञ्चालक राजेश केडिया, सर्लाही क्षेत्र नम्वर ३ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हरि उप्रेती, हरिवन नगरपालिकाकी उपमेयर हरिमाला घलान, उखु किसानका नेता, उखु किसान, उद्योगका मजदुर लगायतको सहभागिता रहेको थियो । उद्योगका प्रमुख उखु प्रबन्धक योगनारायण रजकका अनुसार पुसको पहिलो साताबाट उखु क्रसिङ्ग सुरु गर्ने योजना छ ।
पछिल्लो समय किसानले ढिलो तयार हुने जातको उखु रोपेका कारण विगतका बर्ष भन्दा ढिलै गरी क्रसिङ्ग हुन लागेको हो । किसानले अहिले उखु मासेर अन्य बाली लगाउन थालेका छन् । इन्दुशङ्करले गतवर्ष २४ लाख १३ हजार ३४८ क्विन्टल उखु क्रसिङ गरेको थियो ।
यसवर्ष भने ३० लाख क्विन्टल उखु पेल्ने लक्ष्य राखेको प्रमुख उखु प्रवन्धक रजकले बताए । त्यस्तै, केही दिनअघि नै डोङ्गा पूजा गरिसकेको महालक्ष्मी चिनी उद्योग बगदह पनि सञ्चालनको तयारी भइरहेको छ ।
उद्योगको प्रशासन फाँटमा कार्यरत वीरेन्द्र श्रीवास्तवले किसानबाट उखु खरिद भइरहेकाले एक÷दुई दिनमै क्रसिङ्ग सुरु गरिने जानकारी दिए । जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल भने सञ्चालनबारे अन्यौलता छ ।
सरकारले उखुको मूल्य तय नगर्दै तराईका चिनी उद्योग धमाधम सञ्चालनको तयारीमा लागेका छन् ।