logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विवाह मण्डपमै दुलही पुरस्कृत हुँदा दुलहा र उनका पिता दंग


  • उज्यालो अभियान

दुलही रेणु कुमारी सिंहलाई विबाह मण्डपमै ५० हजार रुपैंयाको चेक प्रदान गर्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो तथा बीचमा दुलहा जितेन्द्र सिंह । (तस्बिर : उज्यालो अभियान)

दुलही रेणु कुमारी सिंहका पिता हरदेव कुमर दनुवार ।

टंक बहादुर क्षेत्री/बबरगंज – शुक्रबार दिउँसो चन्द्रनगर गाउँपालिका–२, दनुवार टोला स्थित हरदेव कुमर दनुवारको घर अगाडी दुलहा–दुलहीबीच स्वयंबर गर्ने विवाहमण्डप तयार थियो । छेउमै ठूलो आवाजमा डीजे घन्कीरहेको थियो ।

हरदेवकी छोरी २२ वर्षीया रेणु कुमारी सिंहको विवाह मण्डप आसपास जन्ती र घर गाउँलेको खचाखच थियो । रेणुलाई भित्र्याउन ईश्वरपुर नगरपालिका–७, पोखरी टोल बस्ने २९ वर्षीय दुलाहा जितेन्द्र सिंह जन्ती लिएर बाजागाजा सहित विबाह मण्डप नजिकै आईसकेका थिए ।

जितेन्द्र र रेणुबीच स्वयंबर गराउन दौडधुप गरिरहेका हरदेवको मुहार देख्दा खुशीको सिमा थिएन । सायद छोरीको विवाह समारोहमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ, वडाध्यक्षहरु सहित जिल्लाका अधिकांश पत्रकारहरुको पनि उल्लेख्य उपस्थितिले उनको मुहारमा चमकता ल्याएको हुनुपर्छ ।

हरदेव मात्र हैन विवाह मण्डपमा उपस्थित जन्ती र घरगाउँलेहरु पनि हर्षित देखिन्थे । हरदेवका परिवार, आफन्त, दुलहा–दुलही अनि जन्ती र घरगाउँलेको मुहारमा खुसीको बहार ल्याउने काम भने चन्द्रनगर गाउँपालिका कार्यालयले गरेको हो । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उर्तिण गरी २० वर्ष पछि मात्रै विबाह गर्ने छोरीलाई प्रोत्साहन स्वरुप नगद ५० हजार रुपैंया सहित विवाह मण्डपमै सम्मान गर्ने कार्यको सूरुवात हरदेवकी छोरी रेणुबाटै गरेको छ ।

जितेन्द्र र रेणुबीच स्वयंबर सम्पन्न भएलगतै गाउँपालिका अध्यक्ष महतोले विवाहमण्डपमै दुलही रेणुलाई ५० हजार रुपैंयाको चेक प्रदान गरे । अध्यक्ष महतोले दुलही रेणुलाई चेक प्रदान गर्ने वितिकै उपस्थित जन्ती तथा घरगाउँलेले पररर ताली बजाएर खुसी व्यक्त गरे ।

बालविवाह अन्त्य सहित छोरीहरुलाई उच्च शिक्षा दिलाउन प्रोत्साहन दिने उद्धेश्यले गाउँ कार्यपालिकाबाट निर्णय गराएर यस्तो कार्यक्रम लागू गरिएको र पहिलो पटक रेणु कुमारी सिंहलाई ५० हजार रुपैंया प्रदान गरिएको अध्यक्ष महतोले बताए । ‘मधेशमा अभिभावकहरुले छोरीलाई उच्च शिक्षा दिलाउने भन्दापनि बेलैमा विवाह गरेर धपाउने प्रचलन व्यापक छ’, अध्यक्ष महतोले भने, ‘यसले एकातिर बालविबाह जस्तो कुप्रथा बढ्दो छ भने अर्कोतिर छोरीहरु उच्च शिक्षाबाट वञ्चित भईरहेका छन् ।’ बालविबाह जस्तो कुप्रथामा कमी ल्याउँदै छोरीहरुलाई उच्च शिक्षा दिलाउने अभियान अन्तर्गत गाउँपालिकाले १२ कक्षा पास गरेर २० वर्ष पछि विबाह गर्ने छोरीलाई विबाह मण्डपमै ५० हजार रुपैंया प्रदान गर्ने तथा स्नातक तह पढ्न चाहने र उक्त तह उत्तीर्ण भएपछि मात्र विवाह गर्ने प्रतिबद्धता प्राप्त छोरीलाई ११ हजार रुपैंया प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष महतोले जानकारी दिए । अध्यक्ष महतोका अनुसार हालसम्म ६ जना छोरीहरुलाई स्नातक तह अध्ययनका लागि ११ हजार रुपैंयाको दरले गाउँपालिकाले सहयोग गरिसकेको छ ।

दुलही रेणुले पनि गाउँपालिका कार्यालयबाट ५० हजार रुपैंया पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताईन् । उनले गाउँका अन्य छोरीहरुलाई पनि आफूले जस्तै २० वर्ष उमेर पुगेपछि मात्र विबाह गर्न र अभिभावकहरुलाई पनि त्यस दिशामा सहयोग गर्न आग्रह गरिन् ।

रेणुका बुबा हरदेवले पनि ५० हजार रुपैंया पाउँदा अत्यन्त खुसी लागेको बताए । ‘गाउँपालिकाले साह्रै राम्रो निर्णय गरेको छ’, ८ कक्षा मात्र पढ्न भ्याएका हरदेवले थपे, ‘गाउँपालिकाको यस्तो कार्यले बालविबाहको चलन अन्त्य गर्न र छोरीहरुलाई पनि सकेको पढाउनु पर्छ भन्ने भावनामा वृद्धि हुन्छ ।’

अनि दहेज (नगद दाईजो) चाँही कति दिनु भयो नि ? भन्ने यो पंक्तिकारको प्रश्नमा हरदेवले हत्तपतिँदै भने, ‘छैन छैन हजुर, एक पैसा पनि दहेज दिएको छुईन, फर्निचरमा १ लाख २० हजार अनि अन्य सरसामान दिँदा र भोजभतेर गर्दा साँढे ४ लाख रुपैंया त भेट्छ होला ।’ लगतै यो पंक्तिकारले त्यसो भा त गाउँपालिकाले दिएको ५० हजार रुपैंया ‘सोकड नाफा’ पो भएछ भन्दा हरदेव सहित छेउछाउका सबैमा एकसाथ हाँसोको फोहरा छुट्यो ।

जेठी छोरीको विबाहमा पनि दहेज दिनु नपरेको हरदेवले सुनाए । उनका छोराको पनि विबाह भईसकेको छ । छोराले चाँही दहेज पाएनन् ? भन्ने प्रश्नमा हरदेवले हाँस्दै भने, ‘छोराले चाँही अलिअलि भित्र्यायो ।’

रेणुले गाउँकै दुर्गा खोभारी जनता माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन् । मधेशमा व्याप्त बालविबाह र दहेज जस्ता कुप्रथा न्युनिकरण गर्न तथा उच्च शिक्षामा छोरीहरुको उपस्थिती बढाउन चन्द्रनगर गाउँपालिकाको यो कार्य ‘कोशेढुंगा’ सावित हुने देखिन्छ ।