logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

´मधेश मसिहा`द्वय राजेन्द्र र महिन्द्र बीच सर्लाही २ मा लुकामारी चल्दै


  • उज्यालो अभियान

नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव (बायाँ) र लोसपाका नेता राजेन्द्र महतो । (तस्बिर : उज्यालो अभियान)

टंक बहादुर क्षेत्री/मलंगवा – प्रतिनिधि एवं प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाही २ काे मतगणनामा मधेश प्रदेशका चर्चित नेताद्वय राजेन्द्र महतो र महिन्द्र राय यादवबीच लुकामारी चलिरहेकाे छ ।

एउटै सत्ता गठबन्धनमै भएपनि मित्रवत प्रतिष्पर्धा गर्ने गरि दोस्रो पटक चुनावी मैदानमा आमने सामने भएका लाेकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता महताे र नेपाल समाजवादी पार्टीका अध्यक्ष यादवले जारी मतगणनामा पटक-पटक एकले अर्काेलाई उछिनिरहेका छन् । ५ दिनअघिबाट सूरु भएकाे मतगणनाका क्रममा यादवले निरन्तर अग्रता लिईरहेका थिए भने महताेले थाेरै मतान्तरमा पछ्याईरहेका थिए ।

विहिबार साँझ महताेले अग्रता लिए । तर महताेकाे अग्रता टिकिरहन सकेन । शुक्रबारबाट पुन: यादवले महताेलाई पछाडी पारेका छन् । शुुक्रबार दिउँसाे जारी मतगणनाकाे पछिल्लाे परिणाम अनुसार यादवकाे १३ हजार ५३१ मत रहेकाे छ ।

४४ हजार ८३१ मतगणना हुँदा महताेले १२ हजार ९२२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका राजनारायण साहले हालसम्म ९ हजार ५७६ मत ल्याएका छन् ।

महताे प्यानलबाट प्रदेश क मा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका जंगिलाल राय विजयी भईसकेका छन् । महताेले प्रदेश क मा कांग्रेसका रायलाई र ख मा लाेसपाका मेथुर चाैधरीलाई आफ्नाे प्यानलमा राखेका थिए भने यादवले क मा माओवादीका सुनिल कुमार साह र ख मा नेपाली कांग्रेसका काैशलकिशाेर रायलाई आफ्नाे प्यानलमा राखेर चुनावमा हाेमिएका हुन् ।

आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भए पनि यादवले माओवादीसँगको सहमती अनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु दुईजना धेरै पटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौं पटक फुट्ने मात्र हैन, एक आपसमा लड्ने (निर्वाचन) समेत गरेका छन् । यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा त करिब-करिब सोही क्षेत्रहरु पर्ने तत्कालिन ४ नम्बर क्षेत्रमै एक आपसमा चुनावी मैदानमा उत्रदा यादवले बाजि मारेका थिए ।

२०७४ मा पनि यादव सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । महतोले २०७४ सालमा भने नेकपा एमालेकाे सहयाेगमा धनुषा ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलाई पराजित गर्न सफल भएका थिए । यसपटक धनुषा ३ मा नेकपा एमाले नेतृ जुली महतो आफै उम्मेद्वार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा यादवसँग पुनः भिड्न आमनेसामने भएका हुन् ।

१ लाख १६ हजार २२३ मतदाता रहेकाे क्षेत्रमा ७४ हजार ७५५ मत खसेकाे जिल्ला निर्वाचन कार्यालय मलंगवाले जनाएकाे छ । जसमध्ये ४४ हजार ८३१ मतगणना सम्पन्न भईसकेकाे छ । अब बाँकी २९ हजार ९२४ मतगणना गर्दा महताेले पुरानाे हारकाे बदला लिने हुन कि यादवले दाेस्राे जीत दर्ज गर्ने हुन्, त्याे भने अन्तिम मतपरिणाम सम्म कुर्नै पर्ने हुन्छ ।