
प्रदेश सभा सदस्यमा विजयी जवाहरलाल कुशवाहा ।
टंक बहादुर क्षेत्री/हरिवन – सर्लाहीकाे क्षेत्र नम्बर ३ क प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेद्वार जवाहरलाल कुशवाहा विजयी भएका छन् ।
१६ हजार ५९१ मत सहित जेब्रा चुनाव चिन्हका स्वतन्त्र उम्मेद्वार कुशवाहाले जीत निकाल्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश प्रसाद प्रसाईँले १५ हजार १६६ मत प्राप्त गरे । कुशवाहा केही समयअघि सम्पन्न नेपाली कांग्रेसकाे महाधिवेशन अन्तर्गत सर्लाही ३ क प्रदेश अध्यक्षमा मतदानबाटै चुनिएका थिए । कांग्रेसकाे प्रदेश सभा अध्यक्ष बनेकाे केही महिनामै कुशवाहा नेकपा माओवादी केन्द्र प्रवेश गरे । कुशवाहालाई पार्टी प्रवेश गराउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्वयं सर्लाहीकाे बागमती नगरपालिका अन्तर्गत साेल्टी बजारमा आमसभा कार्यक्रममा आएका थिए ।
प्रदेश सभा सदस्यकाे टिकट पाउने शर्तमा माओवादी प्रवेश गरेपनि अन्तिम समयमा याे प्रदेश सभा सत्ताधारी गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीले पाएपछि कुशवाहाले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । अन्तत: कुशवाहाले बाजि मारेरै छाडे । उनलाई सत्ता गठबन्धनमै रहेकाे माओवादी केन्द्रबाट बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथाेकी (कमल) सहित अधिकांश माओवादी नेता कार्यकर्ताहरुले सत्ता गठबन्धन ताेड्दै ´बागी` उम्मेद्वार कुशवाहालाई अहाेरात्र बाेकेका थिए ।
सत्ता गठबन्धनकाे तर्फबाट समाजवादीका उम्मेद्वार डिल्ली प्रसाद उप्रेतीले ५ हजार ३७२ मत मात्र पाएका छन् । जवाहरलाई माओवादीबाट मेयर जितेका बागमतीका थापा र हरिवनका बुढाथाेकीले दिनरात बाेकेर हिँड्दा सत्ता गठबन्धनधारी दलका नेता कार्यकर्ता बीच पटक-पटक विवाद भईरहेकाे थियाे । यद्यपि जेब्रा बनेका जबाहरले जीत निकालेरै छाडे । विशेषगरी उनलाई माओवादी नेता कार्यकर्ता बाहेक बागमती नगरपालिका अन्तर्गत शंकरपुर, साेल्टी, राजघाट लगायत क्षेत्रका अधिकांश सर्बसाधारण सहित सबै राजनैतिक दलका नेताहरुले क्रियाशिल रुपमै सहयाेग गरेकाे जानकारहरु बताउँछन् । त्यसैले सत्तागठबन्धनकाे किचलाे लगायत यावत माैकालाई सदुपयाेग गर्दै सांगठनिक रुपमा निकै बलियाे ठानिएकाे नेकपा एमाले र ´लाेकप्रिय ठानिएका` उक्त पार्टीका प्रत्यासी गणेश प्रसाईँलाई जेब्रा बनेका कुशवाहाले चुनावी दाैडमा पछाडी पारेरै छाडे ।
याे सहित सर्लाहीमा ६ जना प्रदेश सभा सदस्यकाे अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । यसअघि सर्लाही १ काे ख मा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेली र क मा लाेकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महताे विजयी भएका छन् भने ३ ख मा जसपाका संजय कुमार यादव र ४ क मा कांग्रेसका वीरेन्द्र प्रसाद सिंह एवं ख मा माओवादीका फकिरा महताे विजयी भईसकेका छन् ।