logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धनकौलमा खस्यो ९१ प्रतिशत मत : लालबन्दीमा ४० प्रतिशत मात्रै


  • उज्यालो अभियान

रामनगर गाउँपालिका अन्तर्गत सिसौट बजार स्थित बागमती मावि मतदान केन्द्रमा मतदान गर्न लामवद्ध मतदाताहरु ।

हरिवन – प्रतिनिधि एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत गत आईतबार सम्पन्न मतदानमा सर्लाहीमा ६३.५४ प्रतिशत मत खसेको छ ।

तर गत आईतबार सम्पन्न मतदानमा सर्लाही भित्रै ९१.२१ प्रतिशत मत खसेको बुथ समेत रहेको छ । सर्लाही–४ को धनकौल गाउँपालिका–२ स्थित मनुष्मारा सिँचाईको कृषि भवन मतदान केन्द्रमा ९१.२१ प्रतिशत मत खसेको हो । त्यहाँ ४५५ मतदाता रहेकामा ४१५ मत खसेको छ । उक्त बुथ नेपाली कांग्रेस जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह तथा उनका भाई कांग्रेस मधेश प्रदेश उपसभापति एवं मधेश सरकारका पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको घर छेउकै मतदान केन्द्र हो ।

त्यस्तै धनकौल–२ स्थित आधारभूत विद्यालय धनकौल बजारको एउटा बुथमा ८३.९९ प्रतिशत मत खसेको छ भने अर्को बुथमा ८२.६६ प्रतिशत मत खसेको छ । यो दुवै मतदान केन्द्र धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहको घर छेउमा रहेको छ ।

त्यस्तै बरहथवा–४ स्थित शिव मन्दिर क बुथमा ७७.१४ र ख बुथमा ७४.६५ प्रतिशत मत खसेको छ भने बरहथवा–१४ स्थित आधारभूत विद्यालय कोइरीटोल क मा ७५.५७ र ख मा ७२.२९ प्रतिशत मत खसेको निर्वाचन आयोगको तथ्यांकमा छ । कविलासी–५ को जनता प्रावि रनियामा ७६.१५ प्रतिशत मत खसेको छ भने हरिवन–११ स्थित बालगंगा प्रावि ख बुथमा ७४.०३ प्रतिशत मत खसेको छ ।

त्यसैगरी सबैभन्दा कम भने लालबन्दी नगरपालिका–१४ नारायणखोला स्थित मटरदोभान ख बुथमा ४०.९९ प्रतिशत मत मात्र खसेको छ । त्यहाँ ७२७ मतदाता मध्ये २९८ जनाले मात्र मतदान गरेका छन् । त्यस्तै मटरदोभान क बुथमा ४२.८६ र जनता प्रावि डाहिनीदोभान बुथमा ४३.०५ प्रतिशत मात्र मत खसेको छ । त्यस्तै ईश्वरपुर–१२ स्थित मावि कालिञ्जोर ख बुथका ४५.८७ र क बुथका ५०.७१ प्रतिशत मतदाता मात्र निर्वाचनमा सहभागि भएका छन् ।

४ वटा प्रतिनिधि सभा क्षेत्र मध्ये क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी ६४.७९, २ मा ६४.३२, ३ मा ६३.२० र १ मा ६२.०२ प्रतिशत मत खसेको छ । ८ वटा प्रदेश सभा मध्ये १ क का ६४.४८, ख का ५९.७६ प्रतिशत मतदाताले मतदान गरेका छन् । त्यस्तै २ क मा ६६.३० र ख मा ६२.६५ प्रतिशत मत खसेको छ । ३ क का ६१.८५ र ख का ६४.९३ प्रतिशत मतदाता मतदानमा सहभागि भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ४ क मा ६७.७३ प्रतिशत तथा ख मा ६१.७२ प्रतिशत मत खसेको छ ।

केही समयअघि मात्र सम्पन्न स्थानीय तह निर्वाचनमा भने सर्लाहीमा ७५ प्रतिशत मत खसेको थियो । यसपटक दलहरुबीच गठबन्धन हुँदा आफूले गर्ने चुनाव चिन्ह मतपत्रमै नहुने लगायत कारणले मतदाताहरु मतदानमा आकर्षित नभएको विज्ञहरु बताउँछन् । स्थानीय तह निर्वाचनमा बाहिर रहेका अधिकांश मतदाता मतदानका लागि गाउँ फर्किएका भएपनि प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा भने निकै कम मात्र मतदाता गाउँ आएका थिए ।