बरहथवा, कात्तिक २३ – जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सचिव जयप्रकाश राय र बरहथवा नगर कमिटी अध्यक्ष लक्ष्मी राय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार बरहथवास्थित दास धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्य कार्यकर्तालाई साथमा लिएर जसपाका जिल्ला सचिव जयप्रकाश र बरहथवा नगर अध्यक्ष लक्ष्मी माओवादीमा प्रवेश गरेका हुन् । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा जयप्रकाश जसपाको तर्फबाट बरहथवा नगरप्रमुखको प्रत्यासी र लक्ष्मी बरहथवा वडा नं. ५ को वडाध्यक्षका प्रत्यासी थिए ।
उनीहरुलाई माओवादी केन्द्रका उप–महासचिव एवं मधेश प्रदेशका इन्चार्ज गणेश साहको प्रमुख आतिथ्यतामा पार्टीमा प्रवेश गराइएको माओवादी केन्द्र बरहथवाका नगर कमिटी सचिव एवं कार्यक्रम संचालक रामबाबु सिंहले जानकारी दिए । उनले कार्यक्रममा ठूलो संख्यामा जसपाका कार्यकर्ता माओवादीमा भित्रिएका दावी गरेका छन् ।
नगर कमिटी अध्यक्ष सुमन थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्य रामेश्वर राय, पोलिटब्यूरो सदस्य अच्यूतम काफ्ले, केन्द्रीय सदस्य राधेश्याम पासवान र माया बल, गठवन्धनको तर्फबाट क्षेत्र नं. ३ मा पार्टीका उम्मेदवार नरेन्द्रप्रसाद साह, पार्टीका जिल्ला संयोजक एवं हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, प्रदेश कमिटी सदस्य एवं बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, बरहथवाका पूर्व मेयर देवानन्द महतो लगायतको पनि आतिथ्यता रहेको थियो ।