नेता श्रेष्ठको सार्वजनिक पत्र ।
लालबन्दी – नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले स्थानीय तह निर्वाचनमा अन्तरघात गर्नेहरुले नै आफूलाई कारवाहीको सिफारिस पत्र काटेकोमा आपत्ति जनाएका छन् ।
पूर्व उर्जा तथा पशुपंक्षी विकास राज्यमन्त्री समेत रहेका श्रेष्ठले नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापतिलाई पत्र लेख्दै गठवन्धनको उम्मेदवारलाई सघाउन नहिँडेको भन्दै कारवाहीका लागि पत्र काट्ने क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीलाई नै कारवाहीको माग राखेका छन् । श्रेष्ठले क्षेत्रीय सभापति लुंगेली, कांग्रेस मधेश प्रदेश समिति र केन्द्रीय समितिलाई बोधार्थमा राखेर काटेको पत्रमा स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात भएको र प्रदेश तथा संघको उम्मेदवार सिफारिस गर्दा एकलौटी गरिएको उल्लेख गरेका छन् ।
दुई दिनअघि क्षेत्रीय कार्य समितिले गठवन्धनको उम्मेदवारको चुनावी प्रचारप्रसारमा सामेल नभएको भन्दै पत्र काटेपछि श्रेष्ठले पनि काउण्टर पत्र सार्वजनिक गरेका हुन् । नेता श्रेष्ठ संस्थापन पक्षका हुन् भने क्षेत्रीय सभापति लुंगेली संस्थापन ईतर समूहका हुन् ।
क्षेत्रीय सभापति लुंगेलीले श्रेष्ठलाई काटेको पत्र पनि हेर्नुहोस् ।
