logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा १० जना ´बागी` ले मात्र उम्मेदवारी फिर्ता लिए


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा प्रतिनिधि सभातर्फ दुईजना र प्रदेश सभातर्फ आठ जना गरी १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिएको थियो । सो समयभित्र सर्लाहीमा दस जनाको उम्मेदवारी फिर्ता भएको हो ।

सर्लाहीमा चार प्रतिनिधि सभा सदस्यका लागि ७१ जना र आठ प्रदेश सभा सदस्यका लागि १३९ जनाको उम्मेदवार परेको थियो । त्यसमध्ये क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवारी दिएका भिमप्रसाद पोखरेल र बेनीबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै प्रदेश सभा तर्फ क्षेत्र नं. १ को (क) मा नेत्र गोविन्द श्रेष्ठ दुवा र गौरी शंकर महतो कोइरी तथा १ को (ख) मा दीलिपकुमार साहले उम्मेदवारी फिर्ता लिएका क्षेत्र नं. १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले जानकारी दिए । यस्तै, क्षेत्र नं. २ मा (क) मा नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार सियाराम रायले उम्मेदवारी फिर्ता लिएका छन् भने क्षेत्र नं. ३ (क) मा नेकपा एमालेबाट ‘बागी’ उम्मेदवारी दिएकी हरिवन नगरपालिकाकी निवर्तमान उपप्रमुख रेणुका पौडेलसहित सोही क्षेत्रबाट महेशकुमार कटुवाल र ३ को (ख) बाट रामेश्वर राय यादवले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै, क्षेत्र नं. ४ (क) मा युगेश्वर महतो एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए ।