आईतबार दिउँसो प्यानल बनाएरै उम्मेद्वारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय लालबन्दीमा जाँदै गरेका मान बहादुर खड्का, राम चन्द्र सिंह कुशवाहा र राजन कुमार श्रेष्ठ । (तस्बिर : सामाजिक संजाल)
लालबन्दी – सर्लाहीको क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएका लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काले पुतली चुनाव चिन्ह पाएका छन् ।
एमाले-जसपा गठवन्धनबाट जसपाका निवर्तमान सांसद प्रमोद साहले टिकट पाएपछि खड्काले ‘बागी’ उम्मेदवारी दिएका थिए । खड्काले आफूलाई एमालेसहित सत्तागठन्धन भित्रकै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित अन्य दलको पनि मौन समर्थन रहेको दावी गरेका छन् ।
उनलाई असोज २३ गते उम्मेदवारी दर्ता गराउन जानेक्रममा कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, नेकपा एमालेका मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्तलगायतका नेताहरुले शुभकामना दिँदै माला लगाएर उम्मेदवारी दर्ताका लागि पठाएका थिए । खड्काले उम्मेदवारी दर्ता गराउने दिन पनि दलका नेताहरुसँग घण्टौ छलफलपछि साथ, सहयोग पाउने हौसल्ला पाएपछि उम्मेदवारी दर्ता गराएका थिए ।
खड्काको साथ लागेर प्रदेशसभा तर्फ १ (ख) का माओवादी केन्द्रबाट ‘बागी’ उम्मेदवारी दिएका राजनकुमार श्रेष्ठले जेब्रा चुनाव चिन्ह पाएका छन् । नेकपा माओवादी केन्द्रबाट प्रदेश क मा टिकट पाएका रामचन्द्र सिंह कुशवाहाले पनि खड्काकै प्यानलमा जुलुस सहित उम्मेदवारि दर्ता गराएका थिए ।