मलंगवा – सर्लाहीका स्थानीय तहमा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुलाई सोमबार पद तथा गोपनियताको शपथ खुवाईंदै छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुब कुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरुलाई पद तथा गोपनियताको शपथ खुवाउन लागेका हुन् । सोमबार बिहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा शपथग्रहण कार्यक्रम राखिएको जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदीले जानकारी दिए ।
जिल्ला न्यायाधीशबाट शपथ खाएपछि मेयर र अध्यक्षहरुले आ–आफ्नो पालिकामै उपमेयर र उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई शपथ खुवाउने छन् । गत वैशाख ३० गते भएको मतदानबाट सर्लाहीमा ११ नगरपालिका र ९ वटा गाउँपालिकामा जनप्रतिनिधि चयन भएका छन् । निर्वाचनबाट सर्लाहीका ११ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित २२ जना, नौवटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित १८ जना, २०० जना वडाध्यक्ष र ८०० जना वडा सदस्य गरी एक हजार ४० जना जनप्रतिनिधि चुनिएका छन् ।