बरहथवा – बरहथवा नगरपालिकाकाे जारी मतगणनामा कांग्रेसका वडाध्यक्ष उम्मेद्वारहरु धमाधम अभागी सावित भईरहेका छन् ।
काग्रेसबाट वडाध्यक्षमा उठेका उम्मेद्वारहरु मध्ये काेही गाेलाबाट हारेका छन् त काेही १ अनि काेही २ मतले हारेका छन् । हालसम्म सम्पन्न मतगणना अनुसार कांग्रेसका ३ जना वडाध्यक्षका उम्मेद्वारहरुले यस्ताे विडम्बना झेल्नु परेकाे छ ।
वडा नं. ४ मा कांग्रेसका वडाध्यक्ष उम्मेद्वार ३७ वर्षीय लखेन्द्र महताे नेकपा एमालेका ४१ वर्षीय कृष्ण कुमार साहसँग गाेलाप्रथाबाट पराजित हुन पुगे । दुवैजनाकाे समान ३०४ मत आएपछि निर्वाचन अधिकृतकाे कार्यालयले गाेलाप्रथाबाट वडाध्यक्ष चयन गरेकाे थियाे । गाेला टिप्ने क्रममा कांग्रेसका महताे पराजित हुँदै समान मत ल्याएपनि निकटतम् प्रतिद्वन्द्वीकाे स्थानमा पुगे ।
त्यस्तै वडा नम्बर १४ मा कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी संजय कुमार १ मात्र मतले पराजित हुनु पर्याे । मतगणना सम्पन्न हुँदा ३५ वर्षीय संजयले ३६७ मत पाए भने जनता समाजवादी पार्टीका ४४ वर्षीय दिपेन्द्र प्रसाद यादवले १ मतले टप्दै वडाध्यक्षकाे पगरी गुथे ।
त्यस्तै वडा नम्बर १३ मा कांग्रेसका राम विश्वास महताे एमालेका राजगिर दर्जीसँग २ मतले पराजित भएका छन् । ३४ वर्षीय महताेले ४७५ मत ल्याउँदा एमालेका ३६ वर्षीय राजगिरले ४७७ मत ल्याउँदै विजयी भए ।