logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

शुक्रबार १८ प्रतिशत मात्र मतदान भएकाे श्रीपुरमा आज ८४ प्रतिशत : बरहथवाकाे मतगणना आज रातीबाटै


  • उज्यालो अभियान

मंगलबार बिहान श्रीपुरमा भएकाे पुनः मतदानमा सहभागी हुँदै एक महिला मतदाता ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नमवर १७ काे आधारभूत विद्यालय परोरिया मतदान स्थलका २ वटा मतदान केन्द्रमा मंगलबार भएकाे पुन: मतदानमा ८४ प्रतिशत मत खसेकाे छ ।

निर्वाचन आयोगले उक्त वडामा गत शुक्रबार भएकाे मतदान रद्द गर्ने निर्णय गरेपछि मंगलबार पुन: मतदान भएकाे हाे । जम्मा एकहजार ९५४ मतदाता रहेकाे उक्त दुवै मतदान केन्द्रमा  मंगलबार ८४ प्रतिशत मत खसेकाे जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए ।

जबकी उक्त दुवै मतदान केन्द्रमा गत शुक्रबार साँझ ५ बजेसम्म पनि १८ प्रतिशत मत मात्र खसेकाे थियाे । मतदान स्थलमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरेर कडा सुरक्षा व्यबस्थाका बीच मतदान गराईएकाे थियाे । मतदान स्थल आसपास नेपाली सेनाकाे गस्ती समेत बढाईएकाे थियाे । मतदान गर्न बिहानैदेखि मतदाताकाे भिड लागेकाे थियाे ।

त्यहाँ जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आराेप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुन: मतदानकाे माग गर्दै उजुरी दिएपछि आयाेगले पुन: मतदान गर्ने निर्णय गरेकाे थियाे । निर्वाचन अधिकृत दशरथ पंगेनीले मतगणना सफल रुपले सम्पन्न भएकाे उल्लेख गर्दै अहिले मतगणना आचारसंहिता लगायत विषयमा छलफल भईरहेकाे र मंगलबार रातीबाटै बरहथवा नगरपालिका कार्यालयमा मतगणना सूरु गरिने बताए ।