logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कौडेना गाउँपालिका अध्यक्षमा बाजि मारे, कांग्रेसका बब्लुले


  • उज्यालो अभियान

नवनिर्वाचित अध्यक्ष रुपेश कुमार
नवनिर्वाचित अध्यक्ष रुपेश कुमार र उपाध्यक्ष नगिना देवीलाई निर्वाचित भएकाे प्रमाणपत्र दिँदै निर्वाचन अधिकृत विश्वनाथ अर्याल (सबैभन्दा दायाँ) ।

कौडेना – कौडेना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बब्लु भनेर परिचित रुपेश कुमार यादव फराकिलो मतान्तरले निर्वाचित भएका छन् ।

पाँचहजार २८१ मत सहित ३९ वर्षीय बब्लु विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राज नन्दन प्रसादले दुईहजार ४४१ मत मात्र पाए । २०७४ स्थानीय तह निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी रहेका बब्लुले तीनहजार मत प्राप्त गरेका थिए भने निवर्तमान अध्यक्ष हाल लोसपाका प्रत्यासी रामप्रसाद राय यादवले तीनहजार ५४२ मत प्राप्त गरेका थिए । निवर्तमान अध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टीका राम प्रसाद राय यादवले भने यो पटक तेस्रो हुँदै दुईहजार ६५ मत मात्र पाएका छन् । अध्यक्षमा निर्वाचित बब्लु कांग्रेस सर्लाहीका पूर्व सभापति एवं प्रतिनिधि सभा सदस्य नागेन्द्र कुमार रायका भतिजा समेत हुन् । उनले अब गाउँपालिका एवं जनताहरुको विकास, निर्माण, समृद्धिका लागि डटेर लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी नगिना देवी चारहजार ९६३ मत सहित विजयी भएकी छिन् । निकतम् प्रतिद्वन्द्वी जसपाकी पलबि देवी यादवले दुईहजार ६६२ मत मात्र प्राप्त गरिन् । त्यस्तै वडाध्यक्षतर्फ भने १, २, ४ र ५ नम्बर वडामा क्रमशः कांग्रेसका राजेश पटेल, राम दरेश ठाकुर, राम विश्वास राय र अनिश खातुन प्यानल सहित विजयी भए । त्यसैगरी जसपाका पचु चौधरीले वडा नम्बर ३, नेकपा माओवादी केन्द्रका उमेश राय यादवले वडा नम्बर ६ र राप्रपाका विजय प्रसाद यादले वडा नम्बर ७ बाट आफ्नो प्यानल सहित वडाध्यक्षमा जीत हाँसिल गरेका छन् । विजयी गाउँपालिका अध्यक्ष बब्लु र उपाध्यक्ष नगिना सहित सम्पूर्ण निर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृत विश्वनाथ अर्यालले प्रमाण–पत्र प्रदान गरे ।