लालबन्दी नगरपालिका–४ को वडाध्यक्षमा शशी चौधरी विजयी भएपछि आईतबार दिउँसो मतगणना स्थल अगाडी पूर्व–पश्चिम राजमार्गमा विजयी जुलुस निकाल्दै कांग्रेसीहरु । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – लालबन्दी नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका शशी नामले परिचित सत्यनारायण चौधरी विजयी भएका छन् । लालबन्दी नगरपालिकाका नेकपा एमालेबाट निर्वाचित निवर्तमान मेयर मान बहादुर खड्काको वडामा कांग्रेसका चौधरी नेतृत्वको प्यानल नै विजयी भएको हो । लालबन्दी नगरपालिकामा हालसम्म सार्वजनिक भएको २ वटा वडाको अन्तिम मत परिणाम अनुसार यसअघि वडा नम्बर ३ मा पनि कांग्रेसकै बुद्ध देव चौधरी विजयी भएका थिए ।
७८३ मत सहित चौधरी विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका वीजय प्रसाद घिमिरेले ६७१ मत मात्र प्राप्त गरे । वडाध्यक्षमा विजयी चौधरी नेपाल क्युकोशिन कान कराँतेका ब्ल्याक बेल्ट थर्ड डन् समेत हुन् ।
लाबलन्दीमा ३ र ४ नम्बर वडाको अन्तिम मत परिणाम तथा १ र २ को जारी मतगणना अनुसार मेयरतर्फ कांग्रेसका बासुदेव अधिकारी दुईहजार २५८ र उपमेयरमा कल्पना पाख्रिन दुईहजार १२२ मत सहित अग्र स्थानमा छन् । मेयरतर्फ एमालेका गोविन्द महत एकहजार ५८२ र गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका प्रल्लाद बुढाथोकीले एकहजार ४५४ मत सहित पछ्याईरहेका छन् । बुढाथोकी माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट मेयर उम्मेद्वार हुन् । यता उपमेयरमा एमालेकी सनसरीमाया थिङले एकहजार ७४९ र गठबन्धनबाट एकीकृत समाजवादीका गोविन्द अधिकारीले २१२ मत मात्र प्राप्त गरे ।