हरिवन – हरिवन नगरपालिका वडा नम्बर २ काे वडाध्यक्षमा नेपाली कांग्रेसका अर्जुन याेञ्जन विजयी भएका छन् ।
आईतबार बिहान ४ बजे निर्वाचन अधिकृतकाे कार्यालयले गरेकाे घाेषणा अनुसार याेञ्जनले ९४६ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन महताेले ८७८ मत मात्र ल्याए । वडाध्यक्ष याेञ्जन बाहेक चारैजना सदस्य भने एमालेबाट विजयी भएका छन् ।
त्यहाँ मेयरतर्फ भने एमालेका गणेश प्रसाद प्रसाईंले ८२७, कांग्रेसका राम प्रसाद मैनालीले ४६६, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले ३३५ र माओवादी केन्द्रका कमल बुढाथाेकीले २४२ मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी हरिमाया घलानले ८७२, कांग्रेसकी साेनी कुमारी बम्जनले ६३२, माओवादीकी पद्मा माेक्तानले २०२ र एकीकृत समाजवादीकी सीता थापाले १०९ मत प्राप्त गरेकी छिन् ।
हरिवनकाे वडा नम्बर १ मा भने यसअघि नै कांग्रेसका टम बहादुर घिसिङ विजयी भईसकेका छन् । अहिले वडा नं. ३, ४ र ५ काे गणना भईरहेकाे छ ।