मलंगवा – स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको काैडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएकाे छ ।
कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक-पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएकाे हाे । मतदान स्थलमा तत्काल आईपुगेकाे सेनाकाे टाेलीले फायर नगरेपनि हतियार तेर्स्याएपछि स्थिती तत्काल शान्तिपूर्ण बनेकाे स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए ।
कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडीबाट सूचारु भएको थियाे । मतदान सुचारु भएकाे केहीबेर पछि पुन: झडप भएकाे र सेनाकाे टाेलीले घटनास्थल नियन्त्रणमा लिएकाे बताईएकाे छ ।
त्यस्तै धनकौल गाउँपालिका-२, पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् । मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भईरहेकाे प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले उज्यालाे अभियानलाई जानकारी दिए । धनकाैलकाे उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडाैंबाटै नेपाली सेनाकाे विशेष टाेली हेलिकप्टरबाट उत्रिएकाे बताईएकाे छ ।
सर्लाहीको धनकौलमा गोली चल्यो, मतदान नै सुचारु हुन सकेन (तस्बिर सहित)
जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरुमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् । आज भएको मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन् । चारलाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।