धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा प्रहरीले गोली चलाएपछि भागाभाग गर्दै गरेका नेता कार्यकर्ता तथा मतदाताहरु ।

मलंगवा – स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि सुरक्षाकर्मीले गोली चलाएका छन् । धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिती नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको उज्यालो अभियानलाई जानकारी दिए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद तथा झडप भएपछि स्थिती नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रजिअ गौतमले बताए । कार्यकर्ताहरुबीच ढुंगा हानाहान समेत भएको छ । विवाद भएको ठाउँमा स्थिती नियन्त्रणमा लिन नेपाली सेनाका सुरक्षाकर्मी समेत खटाईएको छ ।


त्यहाँ हाल मतदान कार्य अवरुद्ध भएको छ । त्यस्तै बलरा नगरपालिका–१, हथियौल स्थित मतदान स्थलमा पनि विवादका कारण मतदान कार्य अवरुद्ध भएको प्रहरी उपरीक्षक प्रविण पोखरेलले उज्यालो अभियानलाई जानकारी दिए । त्यस्तै कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलामा समेत नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर अगाडीबाट सूचारु भएको छ । अन्य केही मतदान स्थलमा पनि विवादका कारण मतदान कार्य स्थगित भएको बताईएको छ ।
जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरुमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् । आज भएको मतदानबाट ११ नगरपालिका र ९ गाउँपालिका गरी २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा २०० वडाध्यक्ष एवं ८०० जना वडा सदस्य गरी एकहजार ४० जना जनप्रतिनिधि चुनिने छन् । चारलाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।