लालबन्दीमा बुधबार एउटै व्यक्तिले १०–१५ जनाको मतदाता परिचय पत्र बोकेर गएपछि दुई पक्षबीच भएको विवादस्थल ।
मलंगवा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मौन अवधी सूरु भएपनि बुधबार (गए) रातभर जिल्लाका विभिन्न स्थानमा विभिन्न पार्टीका नेता कार्यकर्ताबीच झडप भएका छन् । विशेष गरी क्षेत्र नं. ४ को बलरा नगरपालिका र धनकौल गाउँपालिकामा झडपहरु बढी भएका छन् । जिल्लाका अन्य ठाउँहरुमा पनि सामान्य वादविवाद भएको तर सुरक्षाकर्मीले बल नै प्रयोग गर्नुपर्ने अवस्था नआएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
जिल्लाकै अति संवेदनशिल क्षेत्र मानिने बलरा नगरपालिकामा राती सबा १२ बजे नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परेर बलरा नगरपालिका–४ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार मणिभूषण सिंह र वडा सदस्यका उम्मेद्वार हरेन्द्र सहनी घाईते भएका छन् भने एमाले कार्यकर्ताहरु राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव कुमार सहनी समेत घाईते भएको प्रहरीले जनाएको छ । जब्दी गाउँ स्थित सहनी टोलामा राती झडप भएको प्रहरीले जनायो । घाईते तीनजना एमाले कार्यकर्ताहरुको सदरमुकाम मलंगवामा उपचार भईरहेको र कांग्रेसका दुईजनाको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको बताईएको छ ।
त्यस्तै बसबरिया गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं हाल कांग्रेसबाट अध्यक्षका प्रत्यासी रामअयोध्या राय पनि सामान्य घाईते भएका छन् । रायलाई एमाले कार्यकर्ताहरुले घेरेर कुटपिट गरेको र हातमा चोट लागेको कांग्रेस नेता विनोद खनालले दाबी गरे । खनालले दोषिमाथि कार्बाहीको माग समेत गरेका छन् । बसबरिया गाउँपालिका–२, मानपुरमा राती ९ बजेतिर अध्यक्षका प्रत्यासी रायमाथि हातपात भएको बताईएको छ । बसबरियामै एमालेबाट अध्यक्षका प्रत्यासी राम विश्वास रायले भने आफ्ना कार्यकर्ताहरुले नभई जनताहरुले कांग्रेसका अध्यक्ष उम्मेद्वारलाई घेरेको र ठेलामठेल भएको दाबी गरे । राती गाउँमा किन आएको भन्दै गाउँलेहरुले घेरेको उनको दाबी छ । त्यस्तै बसबरियामा जनता समाजवादीका अध्यक्षका प्रत्यासी राम सिंहासन यादवलाई पनि बसबरिया गाउँपालिका–६, सहोड्वामा दुव्र्यबहार भएको बताईएको छ ।
त्यसैगरी धनकौल गाउँपालिका–६ मा पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच राती झडप भएको छ । त्यहाँ पनि आधा दर्जन बढी सामान्य घाईते भएको बताईएको छ ।
प्रहरी उपरीक्षक प्रविण पोखरेलले जिल्लाको अन्य क्षेत्रको तुलनामा ४ नम्बर क्षेत्रमा बढी झडपका घटना भएको र अन्य क्षेत्रमा भने सामान्य अवस्था रहेको जानकारी दिए । प्रहरीले बल नै प्रयोग गर्नुपर्ने अवस्था भने कतैपनि नआएको उनको भनाई थियो । अधिकांश सुरक्षाकर्मीहरु बुथ बुथमा खटिनु पर्दा सिमित गस्ती टोलीले पनि यथाशक्य सुरक्षा व्यवस्था मिलाईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक राजनैतिक दलका कार्यकर्ताले अर्को राजनैतिक दलका कार्यकर्तालाई गाउँमा पैसा बाँड्न आयो भनेर जताततैबाट एकसाथ खबर आउँदा सुरक्षाकर्मीहरु रनभुल्लमा पर्ने गरेको एक सुरक्षा अधिकृतले गुनासो गरे । ‘यता पैसा बाड्न थाल्यो भन्ने खबर आउँछ अनि त्यता दौडियो, तर त्यहा नपुग्दै फेरि ४–५ ठाउँबाट त्यस्तै खाले फोन आउँछ, कतै कुटाकुट नै भएको भन्ने खबर आउँछ’, एक सुरक्षा अधिकृतले विहिबार बिहान उज्यालो अभियानसँग भने, ‘एउटा गाडी हुन्छ, कताचाँही दौडनु र भ्याउनु, शंकैशंकामा फोन गर्ने प्रचलनले हैरान बनायो, बिहान साँढे ३ बजेसम्म दौडादौड गरियो ।
विशेषगरी मौन अवधीमा रातभर राजनैतिक दलका नेता कार्यकर्ताले गाउँ गाउँ हिड्न होडबाजी गर्ने तथा एकले अर्को पक्षलाई शंका र उपशंकाको दृष्टिकोणले हेर्ने प्रचलनका कारण वादविवाद आउने र झडपकै घटनाहरु हुने गरेको छ ।