फाईल तस्बिर
हरिवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचन अन्तर्गत चुनावी सभालाई सम्बाेधन गर्न भाेली मंगलबार सर्लाही आउने भएका छन् ।
सर्लाहीकाे चक्रघट्टा र लालबन्दीमा पार्टीले आयाेजना गर्ने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बाेधन गर्नेछन् । काठमाडाैंबाट बिहान साँढे ८ बजे सिम्रिक एयरकाे हेलिकप्टरमा राैतहटकाे विश्रामपुरमा ओर्लिएर स्थानीय चुनावी सभालाई सम्बाेधन गरेपछि अध्यक्ष प्रचण्ड सर्लाहीकाे चक्रघट्टा बजारमा आउने छन् । बिहान साँढे १० देखि ११ बजे बीचमा चक्रघट्टा बजारमा आयाेजना हुने पार्टीकाे आमसभालाई अध्यक्ष प्रचण्डले सम्बाेधन गर्ने माओवादी केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामेश्वर राय यादवले जानकारी दिए । रामेश्वरका छाेरा चक्रघट्टा गाउँपालिका अध्यक्षका निवर्तमान अध्यक्ष विक्रम यादवले पुनः अध्यक्षमा उम्मेद्वारी दिएकाले उनकाे प्रचार प्रसारका लागि अध्यक्ष प्रचण्डले सम्बाेधन गर्ने भएका हुन् ।
त्यस्तै चक्रघट्टाकाे कार्यक्रम सकिने वितिकै अध्यक्ष प्रचण्ड साेही हेलिकप्टरबाट पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा उत्रने छन् । त्यहाँ आयाेजित चुनावी सभामा पार्टीका केन्द्रीय सदस्य समेत रहेका मेयर उम्मेद्वार प्रल्लाद बुढाथाेकीकाे पक्षमा प्रचण्डले सम्बाेधन गर्नेछन् । लालबन्दीकाे कार्यक्रम सकिएपछि मंगलबार दिउँसाे अध्यक्ष प्रचण्ड साेही हेलिकप्टरमा महाेत्तरीकाे बर्दिबास तर्फ लाग्ने बताईएकाे छ । हेलिकप्टरमा सुरक्षा अधिकृत समेत सँगै आउने हुनाले प्रचण्डसँग पार्टीका अन्य केन्द्रीय नेताहरु भने नहुने सुरक्षा स्राेतले जनायाे । अकस्मात कार्यक्रम तय भएकाले अध्यक्ष प्रचण्डले सम्बाेधन गर्ने चुनावी सभाहरु संक्षिप्त हुने एक माओवादी नेताले जानकारी दिए ।