logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

के गर्दैछन्, नेपालकै ´कान्छा` पालिका प्रमुख उम्मेद्वार राजाबाबु ?


  • उज्यालो अभियान

कांग्रेस अध्यक्ष उम्मेद्वार हरिनन्दन् प्रसाद यादव ।

टंक बहादुर क्षेत्री/रामनगर – मुलुककै मुख्य राजनैतिक दल नेकपा माओवादी केन्द्रले सर्लाहीको दक्षिणी क्षेत्र स्थित रामनगर गाउँपालिकामा २२ वर्षीय राजा बाबु यादवलाई अध्यक्षको उम्मेद्वार बनाएपछि उनको चौतर्फी चर्चा चलेको छ । हुनत २२ देखि ३० वर्ष उमेरका स्वतन्त्र र विभिन्न साना राजनैतिक दलबाट पालिका प्रमुखमा उम्मेद्वारी दिने प्रसस्त छन् । तर देशभरमा सबैभन्दा बढी उम्मेद्वारी दिने प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट पालिका प्रमुखका उम्मेद्वारहरु मध्ये सम्भवतः राजाबाबु सबैभन्दा कान्छो (स्वतन्त्र पुष्टि हुन बाँकी) उमेरका हुन सक्ने भएकाले उनकाे चर्चा परिचर्चा बढेकाे हाे ।

लाेसपा अध्यक्ष उम्मेद्वार मनिष मिश्र ।

रामनगर गाउँपालिकामै साना पार्टी नेपाली जनता दल र जनता प्रगतिशिल पार्टी नेपालले पनि समान २२ वर्ष उमेरकै उम्मेद्वार अध्यक्षमा उठाएका छन् । नेपाली जनता दलबाट शम्भु राय तथा जनता प्रगतिशिल पार्टी नेपालबाट साहेब झा अध्यक्षका प्रत्यासी हुन् । तर मुलुककै मुख्य राजनैतिक दलहरु मध्येको माओवादी केन्द्रबाट उम्मेद्वार बनेपछि २२ वर्षीय राजाबाबुको चर्चा परिचर्चा सूरु भएको छ ।

माओवादी अध्यक्ष उम्मेद्वार राजाबाबु यादव साेमबार दिउँसाे मतदातासँग मत माग्दै ।

एपेक्स कलेज काठमाडौमा बीबीए अन्तिम वर्षको परीक्षा दिएका राजाबाबु उम्मेद्वारी मनोनयन गरेदेखि गाउँमा घरदैलो गर्दै आशिर्वाद लिन व्यस्त छन् । ‘राजनीतिमा भ्रष्ट्राचार धेरै बढ्यो, अनियमितता र भ्रष्ट्राचार विरुद्ध मेरो उम्मेद्वारी हो’, आईतबार यस पंक्तिकार रामनगर गाउँपालिकाको ध्रुवा टोला पूग्दा मतदाताकाे घरमै भेटिएका राजाबाबुले भने, ‘सोझा साझा मधेशी जनतालाई भ्रष्ट र अनियमित काम गर्नेहरुले सँधै ठगिरहेका छन्, मेरो उम्मेद्वारी त्यस विरुद्ध हो ।’ घरदैलो कार्यक्रम सिद्दिएपनि विपक्षी दलका नेता कार्यकर्ताले सोझासाझा मतदातालाई डस त्रास सहित धम्क्याउने, प्रलोभन देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले आफू पटक-पटक गाउँ गाउँ घुम्ने गरेको राजाबाबुले बताए ।

वृद्दा मतदातासँग आशिर्वाद लिँदै राजाबाबु ।

उनी माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुन् । २०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएपनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिव पुजन रायको उम्मेद्वारी खारेजीमा परेको थियो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचन अन्तर्गत सर्लाहीको तत्कालिन क्षेत्र नम्बर ६ मा मधेशी जन अधिकार फोरमको उम्मेद्वार बनेर तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर तथा नेपाली कांग्रेसका चर्चित नेता डा. अमरेश कुमार सिंह लगायतलाई हराएका शिवपुजन त्यस क्षेत्रमा प्रभावशाली राजनीतिज्ञ हुन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने तराई मधेश सद्भावना पार्टीबाट उठेका शिवपुजन कांग्रेसका डा. सिंहसँग पराजित भए । २०७४ सालमा निर्वाचन आयोगले उम्मेद्वारी नै खारेज गरेपछि आफ्नो राजनैतिक विरासत जेठा छोरातर्फ सार्ने पहिलो खुट्किलोको रुपमा शिवपुजनले स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत रामनगर गाउँपालिकाको अध्यक्षमा राजाबाबुलाई अगाडी सारेका हुन् ।

के तपाँईले आफ्नो राजनैतिक विरासत छोरातर्फ सार्न खोज्नु भएको हो ? भन्ने यस पंक्तिकारको प्रश्नमा हाँस्दै शिवपुजनले निर्धक्कसँग भने, ‘अब मैले पनि भारतका चर्चित नेता लालु प्रसाद यादवले जस्तो गर्दैछु, एउटा छोरालाई गाउँपालिका प्रमुख र अर्को छोरालाई विधायक बनाउछु ।’

२२ वर्षीय राजाबाबुको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका आफ्नै काका ४१ वर्षीय हरिनन्दन प्रसाद यादवसँग मुख्य भिडन्त हुने देखिएको छ । उक्त पालिकामा यसअघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका कृष्ण प्रसाद बर्माले जितेका थिए । बर्माको केही महिनाअघि निधन भएको थियो । उनको निधनपछि कांग्रेसले माओवादी नेता शिवपुजनका काकाका छोरा हरिनन्दनलाई अध्यक्षको उम्मेद्वार बनाएको छ । हरिनन्दनलाई टिकट दिएपछि निवर्तमान अध्यक्ष बर्माका छोरा २६ वर्षीय केएस राहुल बर्माले बागी उम्मेद्वारी दिएका छन् ।  

रामनगर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र १२ जना सहित जम्मा २१ जनाको उम्मेद्वारी परेको छ । २२ वर्षीय राजाबाबुसँगै स्वतन्त्र १२ जना सहित उनका हजुरबुबा समानका ६२ वर्षीय जनमत पार्टीका प्रत्यासी रामचन्द्र साह, ५३ वर्षीय नेकपा एमालेका प्रत्यासी पुरुषोत्तम प्रसाद चौधरी देखि जनता समाजवादी पार्टीका ३९ वर्षीय मनोज कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीका ३३ वर्षीय मनिष कुमार मिश्र, बहुजन एकता पार्टी नेपालका ३४ वर्षीय मुकेश कुमार साह अध्यक्षका उम्मेद्वार हुन् ।

आफूलाई गाउँका सबै आमा बुबा, दिदीबहिनी अनि दाजुभाईहरुले अत्यन्तै माया र सद्भाव प्रकट गरेको राजाबाबुले दाबी गरे । ‘घरदैलोमा जाँदा मलाई गाउँका सबैले अत्यन्त माया गर्नु भएको छ’, उनले उत्साहित हुँदै भने, ‘कान्छो उम्मेद्वार भएपनि मतदाताहरुले अग्रजहरु भन्दा मलाई बढी माया गर्नुहुन्छ भन्ने विश्वास छ ।’

मतदाताले जसलाई रुचाउँछन् उही उम्मेद्वारले जित्ने त निश्चित हो । आगामी वैशाख ३० गते हुने मतदानको गणना पश्चात मतपरिणाम सार्वजनिक त हुन्छ नै । तथापी मुलुककै मुख्य राजनैतिक दलबाट टिकट हात पारेर आफ्नै काका अनि हजुरबुबा समानका प्रत्यासीसँग भिडेका २२ वर्षीय राजाबाबुले उम्मेद्वार मनोनयन गरेदेखि नै चर्चा कमाएका छन् ।