हरिवन बजार स्थित पूर्व-पश्चिम राजमार्गमा माओवादी कार्यकर्ताले चक्कजाम गरेपछि खटिएका सुरक्षाकर्मी ।

हरिवन – आफ्नाे पार्टीबाट वडाध्यक्षका उम्मेद्वारलाई सुनियाेजित रुपमा बीस खुवाईएकाे भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ताकाे विराेध प्रदर्शन गरेका कारण हरिवन बजार तनावग्रस्त बनेकाे छ ।

माओवादी कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गमा झण्डै दुईघण्टादेखि चक्काजाम सहित नाराबाजी गरिरहेका छन् ।माओवादीका कार्यकर्ताले अहिले राजमार्गमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

आइतबार दिउँसो घरदैलोको क्रममा माओवादी केन्द्रको वडाध्यक्ष पदका उम्मेद्वार शेख इस्तिहारसहितका उम्मेद्वारलाई घरदैलोको क्रममा विपक्षी दलका कार्यकर्ताले मिठाईमा विष मिसाएर सेवन गराएको माओवादी केन्द्रले आरोप लगाएको छ । विष सेवन गराउँदा वडाध्यक्ष पदका उम्मेदवार इस्तिहारसहित चार जना बिरामी परेका माओवादी केन्द्र हरिवनका नगर कमिटी अध्यक्ष अर्जुन पन्तले दाबी गरे । त्यसमध्ये गम्भीर अवस्था भएका वडाध्यक्ष पदका उम्मेदवार इस्तिहारलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । अन्य घाइतेको हरिवनमै उपचार चलिरहेको छ ।
हरिवन बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दर्जनाैं सुरक्षाकर्मी खटाईएकाे छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिल्यै एकीन विवरण भन्न नसकिने जनाएको छ ।