मलंगवा स्थित जानकी पार्टी प्यालेसमा विहिबार प्रशिक्षण उद्घाटन समाराेहमा उपस्थित मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश ध्रुब कुमार पिया (बिचमा) र प्रजिअ थानेश्वर गाैतम तथा सुरक्षा अधिकारीहरु । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – स्थानीय तह निर्वाचन अन्तर्गत आगामी वैशाख ३० गते हुने मतदान कार्य सम्पन्न गर्नका सर्लाहीभर खटाईने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई विहिबारबाट प्रशिक्षण सूरु गरिएकाे छ ।
जिल्ला स्थित ३१८ वटा मतदानस्थलमा ५९९ वटा मतदान केन्द्र कायम गरिएको र प्रत्येक मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई विहिबार र शुक्रबार प्रशिक्षण दिईने जिल्ला निर्वाचन कार्यालय मलंगवाका जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले बताए । ´१२ सय जना मध्ये आज जानकी पार्टी प्यालेसमा ३०० जना तथा कुसुम पार्टी प्यालेसमा ३०० जनालाई प्रशिक्षण दिईएकाे हाे, भूजेलले विहिबार दिउँसाे उज्यालाे अभियानसँग भने, ´भाेलीपनि थप ६०० जनालाई प्रशिक्षण दिईने छ ।
मतदान सफल रुपले सम्पन्न गर्नका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाह गर्नुपर्ने जिम्मेवारी, स्थानीय उम्मेद्वारहरुसँग गर्नुपर्ने समन्वय, कानूनी विधि प्रकृया र पाउने सवा सुविधा लगायत आवश्यक विभिन्न कुराहरु जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम राखिएकाे भूजेलले जानकारी दिए । विहिबार बिहान सदरमुकाम मलंगवा स्थित जानकी पार्टी प्यालेसमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमकाे अध्यक्षता एवं मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश ध्रुब कुमार पियाकाे प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएकाे थियाे । जिल्ला निर्वाचन अधिकारी भूजेलकाे संचालन रहेकाे उद्घाटन समाराेहमा नेपाली सेना भैरवी दल पाँचकुमारी गणका गणपति प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक प्रविण पाेखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश पियाले ब्यानर पढेर प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गरेका थिए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पियाले कानूनी पाटा एवं कर्तव्य निर्वाहमा निश्पक्षता लगायत बारेमा प्रश्ट्याएका थिए भने प्रमुख जिल्ला अधिकारी गाैतमले समग्र जिल्लाकाे सुरक्षा व्यवस्था, मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाह गर्नुपर्ने भूमिका लगायत बारेमा प्रश्ट्याएका थिए । सेनाका गणपति प्रमुख सेनानी कार्की, प्रउ पाेखरेल र सप्रउ खनियाले आ-आफ्ना संगठनकाे सुरक्षा रणनीति एवं खटाईने सुरक्षाकर्मीकाे बारेमा बताएका थिए ।
मुख्य निर्वाचन अधिकृत सहित सबै सुरक्षा अधिकारीहरुले कुसुम पार्टी प्यालेसमा समेत पुगेर प्रशिक्षणमा सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रश्ट्याएका थिए । मतदान अधिकृत एवं सहायक मतदान अधिकृतमा शिक्षक र कर्मचारीलाई खटाईएकाे छ ।
जिल्ला निर्वाचन अधिकारी भूजेलका अनुसार तालिम लिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आगामी वैशाख २४ गते नियुक्ति दिईने र २७ गतेदेखि निर्वाचन सामग्री बुझाईने छ । २८ गतेदेखि कर्मचारीहरु मतदान केन्द्र पुगेर मतदान कार्यका लागि मतदान स्थलकाे व्यवस्थापन एवं स्थानीय उम्मेद्वारहरु सँग छलफल लगायत तयारीमा जुट्ने छन् ।