(तस्बीर : फाईल तस्बिर\उज्यालो अभियान)
नवलपुर – आउँदो ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सर्लाहीमा नेपाली सेनाले पनि गस्ती सुरु गरेको छ ।
जिल्लाका सडक तथा बजारमा नेपाली सेनाले लस्करै हिँडेर गस्ती गर्न थालेको हो । सर्लाहीको नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी (कर्णेल) अभिषेक कार्कीले अन्य सुरक्षा निकाय झैँ सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको बताए । निर्वाचनमा मतदान स्थलकाे सुरक्षा लगायत समग्र सुरक्षा व्यवस्था अन्तर्गत नेपाल प्रहरीले पहिलाे, सशस्त्र प्रहरीले दाेस्राे र नेपाली सेनाले तेस्राे घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ ।
सुरक्षा निकायले सर्लाहीमा ५९९ वटा मतदान स्थल अन्तर्गत १०३ वटा मतदानस्थललाई सुरक्षाका हिसाबले अति संवेदनशील मतदानस्थलको सूचीमा राखेको हो । ती मतदानस्थलमा २०५ मतदान केन्द्र रहेका छन् ।यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन् । संवेदनशील रहेका १८४ वटा मतदानस्थलमा ३३९ वटा मतदान केन्द्र रहेका छन् ।
सुरक्षा निकायले जिल्लाको ३१ वटा मतदानस्थललाई भने सामान्यको सूचीमा राखेकाे छ । ती ३१ वटा सामान्य मतदानस्थलमा ५५ वटा मतदान केन्द्र रहेका छन् ।
सर्लाहीमा नवलपुरस्थित पाँचकुमारीमा प्रमुख सेनानीकाे कमाण्डमा सेनाको गण छ भने बागमतीको कर्मैया र सदरमुकाम मलंगवामा पनि सेनानी(मेजर) काे कमाण्डमा क्याम्प रहेकाे छ ।