हरिवनमा निर्वाचन सामग्री हटाउँदै सुरक्षाकर्मीहरु । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेद्वारहरुकाे प्रचार प्रसारका लागि सार्वजनिक स्थलमा टाँगिएका पाेष्टर पम्प्लेट तथा पार्टीका झण्डाहरु हटाउन सूरु गरिएकाे छ ।
बुधबार दिउँसाे सदरमुकाम मलंगवामा बसेकाे निर्वाचन आचारसंहिता अनुगमन समितिकाे बैठकले त्यस्ता सामग्री हटाउने निर्णय गरेकाे हाे । बुधबार दिउँसाे ३ बजेबाटै सुरक्षाकर्मीहरुले ती सामग्रीहरु हटाउन थालेका छन् । सर्लाही स्थित राजनीतिक दलका प्रमुख तथा उम्मेद्वारहरुले पनि पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबारको बैठकमा सहभागी जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलका उम्मेद्वारहरुले सार्वजनिक स्थलहरुमा राखेको पार्टीको झण्डा, ब्यानर, तुललगायतका प्रचार सामग्री हटाउने प्रतिवद्धता जनाएका हुन् । बिजुलीको पोल, विद्यालय, चाेक चाैराहा लगायतका सार्वजनिक स्थलहरुमा निर्वाचन आचारसंहिता विपरीत राखिएको निर्वाचन सामग्रीहरु दलहरु आफैले नहटाए सुरक्षाकर्मी लगाएर हटाउने र त्यसमा दलहरुको तर्फबाट कुनै अवरोध नगर्ने निर्णय भएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिए । जिल्लामा अहिले प्रत्येक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवाहरुले चोकचौरा सबैतिर झण्डा, ब्यानर, तुल टाँगिरहेका छन् । ती सामग्री अब उम्मेदवार र दल स्वंयले नहटाएका कारण सुरक्षाकर्मीले हटाउन सूरु गरेका छन् । त्यस्तै उम्मेद्वारकाे प्रचार प्रसारमा डीजे बाजा बजाउन पनि प्रतिबन्ध लगाउने निर्णय भएकाे छ । डीजे बजाउँदै र ब्यानर टाँगेर हिँड्ने सबारी साधनलाई समेत नियन्त्रणमा लिने बैठकले निर्णय गरेकाे छ ।
सदरमुकाम मलंवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बैठकले निर्वाचन आचारसंहिताले निषेध गरेका निर्वाचन प्रचारप्रसार सामग्री सार्वजनिक स्थलमा नराख्ने र राखिसकेको पनि हटाउने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले बताए । बैठकमा मुख्य निर्वाचन अधिकृत पिया, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेल, थप १९ वटै पालिकाका निर्वाचन अधिकृत, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, मलंगवा नगरपालिकामा राजनीतिक दलबाट उम्मेद्वारी दिएका मेयरका प्रत्यासीहरु र सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो । मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा पनि राजनीतिक दलहरुले चुनावी आचारसंहिताको पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसैबीच, हरिवन प्रहरीले बुधबार दिउँसाेदेखि नै हरिवन बजार क्षेत्रबाट सार्वजनिक स्थलहरुमा राखिएको झण्डा, ब्यानर लगायतका निर्वाचन प्रचार प्रसार सामग्री हटाउन सुरु गरिसकेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए ।