logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा ‘डमी’ उम्मेद्वार बढी हुँदा ६ वटा पालिकामा पुनः अर्को मतपत्र छाप्नुपर्ने


  • उज्यालो अभियान

सोमबार बरहथवा नगरपालिकामा उम्मेदवारी दर्ताको काम गरिँदै । (तस्बीर : उज्यालो अभियान)

टंक बहादुर क्षेत्री/मलंगवा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ‘डमी’को रुपमा मनोनयन गराएका स्वतन्त्र उम्मेद्वारहरु अनुमान गरेभन्दा बढी हुँदा सर्लाहीका ६ वटा पालिकाका लागि पुनः अर्को मतपत्र छपाई गर्नुपर्ने भएको छ ।

जिल्ला स्थित गोडैता, बरहथवा र बलरा नगरपालिका तथा चक्रघट्टा, रामनगर र ब्रम्हपुरी गाउँपालिका गरी पाँचवटा पालिकाका लागि मतपत्र पुनः छाप्नुपर्ने भएको हो । ती पालिकामा सर्लाही जिल्लाका लागि छापिएको मतपत्रमा स्वतन्त्र उम्मेद्वारहरुका लागि व्यवस्था गरिएको ९ वटा चुनाव चिन्ह भन्दा बढी उम्मेद्वारी परेपछि मतपत्र पुनः छाप्नुपर्ने अवस्था आएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भूजेलले जानकारी दिए ।

भूजेलका अनुसार निर्वाचन आयोगले सर्लाहीका लागि ४४ लहरको मतपत्र छापिसकेको थियो । जसमा राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित ३६ वटा दलको क्रमैसँग र त्यसपछि ९ वटा स्वतन्त्र उम्मेदवारका लागि प्रदान गरिने चुनाव चिन्ह उल्लेख छ । तर ती ६ वटा पालिकामा ९ वटा भन्दा बढी स्वतन्त्र उम्मेद्वारी परेपछि चुनाव चिन्ह थपेर पुनः मतपत्र छाप्नु पर्ने भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयहरुले प्रकाशित गरेको उम्मेद्वारहरुको अन्तिम नामाबली अनुसार गोडैता नगरपालिकामा २१ जना उम्मेद्वारहरु मध्ये १३ जना स्वतन्त्र रहेका छन् भने बलरा नगरपालिकामा १८ जना मेयरका उम्मेद्वारहरु मध्ये १० जना तथा बरहथवा नगरपालिकामा २२ जना उम्मेद्वारहरु मध्ये ११ जना स्वतन्त्र रहेका छन् । त्यसैगरी जिल्लामै सबैभन्दा बढी ‘डमी’ उम्मेद्वार चक्रघट्टामा देखिएका छन् । त्यहाँ २४ जना मध्ये १८ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् । त्यस्तै ब्रम्हपुरीमा २० जना मध्ये ११ जना र रामनगरमा २१ जना मध्ये १२ जना स्वतन्त्र उम्मेद्वार रहेका छन् ।

सबै स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले तय गरेको चुनाव चिन्ह प्रदान गरिसकिएको र अब निर्वाचन निर्देशिका अनुसार क्रमैसँग थप स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह छापिएर आउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख भुजेलले उज्यालो अभियानलाई जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार सदरमुकाम मलंगवामा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र १९ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिसकेका छन् ।

पार्टीबाट मेयर वा अध्यक्षमा मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले प्रचार प्रसार गर्ने तथा मतदानका दिन कार्यकर्ता ओसार्ने जस्ता कामका लागि सवारीसाधनको दुरुपयोग गर्न र मतदान केन्द्रमा बुथ प्रतिनिधि बढी राख्नका लागि स्वतन्त्रका रुपमा ‘डमी’ उम्मेद्वार खडा गर्ने गरेका छन् । स्वतन्त्र भनेर उम्मेद्वारी दिएका त्यस्ता ‘डमी’हरुको काम भनेको आफू आवद्ध पार्टीका मेयर वा अध्यक्षका उम्मेद्वारहरुको काममा खटिने नै भएको एक जानकारले बताए । कहिँ कतै भने पार्टीबाट रुष्ट बनेर वा आफैले स्वतन्त्र उम्मेद्वारी दिएर वास्तविक स्वतन्त्र उम्मेद्वारहरु उठने गरेको भएपनि अधिकांश स्वतन्त्र उम्मेद्वारहरु भने ‘डमी’कै रुपमा दूरुपयोग हुने गरेका छन् ।

(नोट : जिल्ला निर्वाचन कार्यालयले ५ वटा पालिकामा मात्रै पुनः मतपत्र छाप्नुपर्ने भनेर जानकारी गराएपछि लेखिएको यो समाचार प्रकाशित भएपछि पुनः गोडैता नगरपालिकामा समेत स्वतन्त्र उम्मेद्वार बढी भएको जानकारी ढिला गरी प्राप्त भएकाले सच्याईएको छ ।)