कांग्रेस सभापति शेर बहादुर देउवाले पठाएकाे पत्र सार्वजनिक भएपछि निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दी पुगेका आक्राेशित नेता कार्यकर्तालाई आश्वस्त पार्न निर्वाचन अधिकृत विनाेदलाल श्रेष्ठले पूनः प्रकाशित गरेकाे सूचना ।

लालबन्दी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपनि अधिकारीकाे उम्मेद्वारी फिर्ता नहुने भएकाे छ ।
कांग्रेस सभापति देउवाकाे उम्मेद्वारी फिर्ता सम्बन्धी पत्र बाहिरिएसँगै लालबन्दीका सम्पूर्ण कांग्रेस नेता कार्यकर्ता त्यसको विरोधमा निर्वाचन अधिकृतकाे कार्यालय परिसरमा नाराबाजी सहित विराेधमा उत्रिएका थिए । कांग्रेस नेता कार्यकर्ताले आफ्नै पार्टीका केन्द्रीय सभापति देउवा विरुद्द मुर्दावाद सहितकाे नाराबाजी लगाएका थिए । निर्वाचन अधिकृत श्रेष्ठले ताेकिएकाे समयभित्रै प्रकाशित सूचना अनुसार नै उम्मेद्वारहरुकाे अन्तिम नामाबली कायम हुने अर्काे सूचना प्रकाशित गरेपछि मात्रै आक्राेशित कांग्रेस नेता कार्यकर्ता फिर्ता भएका थिए । विराेध कार्यक्रममा कांग्रेस सभापति देउवा पक्षका समेत अधिकांश नेता कार्यकर्ताहरुकाे उपस्थिती रहेकाे थियाे ।
निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दीका निर्वाचन अधिकृत विनाेदलाल श्रेष्ठले उम्मेद्वारहरुकाे अन्तिम नामावली प्रकाशन भईसके पछि उम्मेद्वारी फिर्ताकाे पत्र प्राप्त भएकाले कसैकाे पनि उम्मेद्वारी फिर्ता नहुने जानकारी दिए । ´निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेभित्र उम्मेद्वारी फिर्ता लिने र ६ बजेभित्र उम्मेद्वारकाे अन्तिम नामावली प्रकाशित गर्ने हाे`, निर्वाचन अधिकृत श्रेष्ठले उज्यालाे अभियानसँग भने, ´तर ताेकिएकाे समयभन्दा ढिलागरि उम्मेद्वारी फिर्ताकाे मेल प्राप्त भयाे ।` निर्वाचन अधिकृत श्रेष्ठका अनुसार जिल्ला निर्वाचन कार्यालय मलंगवाबाट ६ बजेर १६ मिनेटमा लालबन्दीमा नेपाली कांग्रेसबाट मेयर उम्मेद्वार बासुदेव अधिकारीकाे उम्मेद्वारी फिर्ता सम्बन्धी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हस्ताक्षर गरेकाे पत्र प्राप्त भएकाे हाे । जबकी निर्वाचन अधिकृतकाे कार्यालयले कांग्रेसका मेयर उम्मेद्वार अधिकारी सहितकाे अन्तिम नामाबली ५ बजेर ४३ मिनेटमै प्रकाशित गरिसकेकाे थियाे । त्यसमाथि देउवाद्वारा हस्ताक्षरित पत्रमा सम्बाेधनकाे ढाचा नै मिलेकाे देखिएकाे छैन ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण रायले केन्द्रीय सभापति शेर बहादुर देउवाले जिल्लाका नेता कार्यकर्तासँग कुनै सल्लाह नै नगरी उम्मेद्वारी फिर्ताकाे पत्र पठाएर कार्यकर्ताकाे भावनामाथि खेलबाड गरेकाे आराेप लगाए । मेयर उम्मेद्वार अधिकारी कांग्रेसमा संस्थापन ईतर शेखर काेइराला पक्षीय नेता हुन् ।
याे पनि पढ्नाेस्
शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमती भएको छ । मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ । माओवादी र समाजवादीबीच उम्मेद्वारी मनाेनयनकाे अघिल्लाे राती अबेर पनि माओवादीले मेयर लिने र समाजवादीले उपमेयर लिने सहमति भएकाे थियाे । तर साेमबार बिहान एक्कासी उक्त सहमती बिथाेलिएकाे भन्दै दुवै दलबाट मेयर र उपमेयरमा आ-आफ्नै उम्मेद्वारले मनाेनयन दर्ता गराएका थिए । माओवादीबाट लालबन्दीमा केन्द्रीय सदस्य एवं मधेश प्रदेश अध्यक्ष प्रल्लाद बुढाथाेकीले मेयरमा उम्मेद्वारी दिएका छन् ।