मलंगवा – मुलुकमै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा विभिन्न राजनीतिक दलबाट ८ जना तथा ६ जना स्वतन्त्र गरी १४ जना महिलाले पालिका प्रमुखको रुपमा उम्मेद्वारी दिएका छन् । प्रमुख दलहरु मध्ये नेपाली कांग्रेसले पालिका प्रमुखको रुपमा महिलालाई अवसर दिएन । नेकपा एमालेबाट तीन, नेकपा माओवादी केन्द्रबाट एक, जनमत पार्टीबाट एक, राप्रपाबाट एक, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबाट एक–एकजना महिलालाई पालिका प्रमुखको उम्मेद्वार बनेका छन् ।
एमालेले उठाएको तीनजना महिला पालिका प्रमुखहरुमध्ये बरहथवा नगरपालिकाकी उम्मेद्वार ५४ वर्षीया कल्पना कटुवाललाई दोस्रो पटक अगाडी सारेको हो । २०७४ सालको निर्वाचनमा पनि पालिका प्रमुखको रुपमा उठाएको थियो । कटुवालले त्यसबेला तेस्रो बढी चारहजार ८०७ मत ल्याएकी थिईन् । त्यतिबेला माओवादीका निवर्तमान मेयर देवानन्द महतोले सातहजार ३०८ र कांग्रेसका निरञ्जन प्रसाद दासले पाँचहजार २७ मत प्राप्त गरेका थिए । यसपटक कटुवालले निवर्तमान मेयर माओवादीका महतो, कांग्रेसका विगु चौधरीसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।
त्यस्तै एमालेले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा संगिता देवी महतो नुनिया र ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा रीता कुमारीलाई उम्मेद्वार बनाएको छ । चन्द्रनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलालाई नै उठाएको छ । उसले त्यहाँ गाउँपालिका उपाध्यक्षमा दलितसमेत रहनुभएकी राजन्ती पासवानलाई उम्मेदवार बनाएको हो । पहिलो पटक चन्द्रनगरमा अध्यक्षको उम्मेद्वारी दिएकी ३३ वर्षीया संगिता लघुवा निवासी हुन् । उनले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष महेन्द्र महतो सुडी, कांग्रेसका राजकुमार महतो, माओवादीका लोकेन्द्र मुखिया, जसपाका सुधिर कुमार यादव, जनमत पार्टीका किशोरी महतो सुडी लगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । २०७४ को निर्वाचनमा चन्द्रनगरबाट एमालेका उम्मेद्वार रामकेवल माझीले ३८१ मत मात्र ल्याएका थिए ।
त्यसैगरी एमालेबाट ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी ३८ वर्षीया रीता कुमारीले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष विनोद कुमार साह, कांग्रेसका रामपदारथ साह, जसपाका विरेन्द्र कुमार राय, माओवादीका कृष्णा राय, जनमत पार्टीका शैलेन्द्र कुशवाहा, बहुजन एकता पार्टी नेपालका देवेन्द्र राम लगायतसँग प्रतिष्पर्धा गर्दै छिन् । २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमै उम्मेदवारी दिएकी रीता कुमारीले पाँचौं भइ ३८६ मत ल्याएकी थिईन् । त्यतीबेला एमालेबाट उठेका पवन कुमार साहले ६९ मत मात्र पाएका थिए । एमाले स्थायी कमिटी सदस्य प्रभु साह निकट रीता कुमारी एमालेकी केन्द्रीय सदस्य समेत हुन् ।
त्यस्तै माओवादीले गोडैता नगरपालिकामा नेतृ अनिता देवीलाई दोस्रो पटक नगर प्रमुखको उम्मेद्वार बनाएको छ । उनले २०७४ सालको निर्वाचनमा तेस्रो धेरै दुईहजार ३९७ मत ल्याएकी थिईन् । त्यहाँ तत्कालिन राजपाबाट निवर्तमान मेयर देवेन्द्र कुमार यादवले तीनहजार ९०२ तथा कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहाले तीनहजार ६७४ मत प्राप्त गरेका थिए । उनले यो पटक पनि यसअघिका निर्वाचित नगर प्रमुख लोसपाका देवेन्द्र यादव, कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहा लगायतसँग नै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
त्यसैगरी कौडेना गाउँपालिकामा जनमत पार्टीबाट ३१ वर्षीया सावित्री धिताल तथा राष्ट्रिय सद्भावना पार्टीबाट ५१ वर्षीया अर्चना देवी गिरीले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । उनीहरुले निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव, कांग्रेसका रुपेश कुमार (बब्लु), जसपाका राज नन्दन् प्रसाद, माओवादीका महादेव साह, एमालेका श्याम प्रसाद चौधरी कलवार लगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।
त्यसैगरी हरिवन नगरपालिकामा नेपाल सद्भावना पार्टीबाट ५५ वर्षीया बचवी देवी साह तेली र हरिपुर नगरपालिमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६५ वर्षीया राधा कुमारी बरालले प्रमुखमा उम्मेद्वारी दिएका छन् । हरिवनकी तेलीले निवर्तमान मेयर एमालेका गणेश प्रसाद प्रसाईं कांग्रेसका राम प्रसाद मैनाली, माओवादीका रमेश बुढाथोकी, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामा लगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ भने हरिपुरकी बरालले निवर्तमान मेयर एकीकृत समाजवादीका जमिरुद्धिन मंसुर, कांग्रेसका गोपाल पंजियार, एमालेका यादव सरकार, माओवादीका सुनिल बुढाथोकी, लोसपाका रामचन्द्र साह, जनमतका राजेन्द्र राय लगायत उम्मेद्वारहरुसँग भिड्नु पर्ने छ ।
त्यस्तै २०७६ सालमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका तत्कालिन विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलकी श्रीमती ४३ वर्षीया धनकुमारी खड्का पौडेलले पनि बागमती नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । जिल्लामा उनी सहित ६ जना महिलाले पालिका प्रमुखको रुपमा उम्मेद्वारी दिएका छन् । पालिका प्रमुखमा ६ स्वतन्त्र सहित १४ जना तथा उपप्रमुखमा भने २० जना स्वतन्त्र सहित १४१ जना महिलाले उम्मेद्वारी दिएका छन् ।
सर्लाहीमा चार लाख ७४ हजार ४३९ मतदाताको अन्तिम नामावली कायम भएको छ । जसमा दुई लाख ५७ हजार १३८ जना पुरुष तथा दुई लाख १७ हजार २९२ जना महिला र नौ जना तेस्रो लिंगी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय मलंगवाले जनाएको छ । झण्डै आधा मतदाता महिला भएपनि उम्मेद्वारको रुपमा महिलालाई अगाडी बढाउन भने प्रमुख राजनैतिक दलहरुले कञ्जुस्याईं गर्दै आएका छन् ।