logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

दलहरु अझैपनि ‘किस्ति’मा टिकट राखेर ‘अदलुबदलु उम्मेदवार’ खोज्दै


  • उज्यालो अभियान

उम्मेदवार मनोनयनमा कोही नआएपछि आईतबार दिउँसो चन्द्रनगर गाउँपालिका कार्यालय परिसरमा वरिपरि खाली कुर्सीहरुका बीचमा निर्वाचन सम्बन्धी पुस्तक अध्ययन गरेर एक्लै बसिरहेका निर्वाचन अधिकृत सुकदेव लम्साल ।

– टंक बहादुर क्षेत्री/मलंगवा – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत उम्मेदवार मनोनयन दर्ताको पहिलो दिन आइतबार सर्लाहीका अधिकांश निर्वाचन अधिकृतको कायालयहरु सुनसान देखिए ।

अपेक्षा अनुसार उम्मेदवार मनोनयन गर्न कोही नआएपछि मलंगवा नगरपालिका समेत हेर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय देखि जिल्लाका २० वटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत देखि सबै कर्मचारीहरु ‘हाई काडेरै’ आईतबारको दिन बिताउन बाध्य भए । आईतबार ३ बजे यो पंक्तिकार चन्द्रनगर गाउँपालिका कार्यालय परिसर पुग्दा निर्वाचन अधिकृत सुकदेव लम्साल निर्वाचन सम्बन्धी पुस्तक अध्ययन गरेर बसेका थिए । ‘खै अहिलेसम्म कोहीपनि उम्मेदवार मनोनयन गर्न आउनु भएको छैन, भोलीचाँही निकै मारामार होला जस्तो छ ।’ निर्वाचन अधिकृत लम्सालले उज्यालो अभियानसँग भने ।

मुख्य निर्वाचन अधिकृत ध्रुब कुमार पियाले आईतबार पहिलाे दिन जिल्ला स्थित २० वटै पालिकामा उम्मेद्वार मनाेनयन अत्यन्त कम भएकाे जानकारी आएकाे बताए । ´आज पहिलाे दिन सबै पालिकामा उल्लेख्य उम्मेदवारी नै नपरेकाे जानकारी आएकाे छ`, आईतबार साँझ पियाले भने, ´सायद भाेली सबै एकैचाेटी उम्मेदवारी मनाेनयनमा आउनु हुन्छ हाेला ।`

मुलुककै ठूलो दल नेकपा एमाले देखि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राप्रपा लगायतका दलहरुबाट केही स्थानीय तहमा आईतबार मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष एवं केही वडाध्यक्षहरुको मात्र उम्मेद्वारी परेको छ । एमाले र माओवादी केन्द्रबाट उत्तरी क्षेत्रका पालिकाहरुमा आकांक्षी धेरै भएकाले उम्मेदवार छनौटमा ढिलाई भएको छ भने दक्षिणी क्षेत्रका पालिकाहरुमा अन्य दलबाट टिकट नपाएपछि रुष्ट बनेका नेता कार्यकर्तालाई उम्मेद्वार बनाउन एमाले र माओवादी पार्टीले आईतबार उम्मेदवार मनोनयन नगराएको एक जानकारले बताए ।

त्यस्तै मधेश केन्द्रीत दल जसपा र लोसपाले समेत अन्य पार्टीबाट रुष्ट हुने नेता कार्यकर्तालाई उम्मेदवार बनाउन पर्खीरहेको बताईन्छ । ती पार्टीहरुले समेत भनेजस्तो उम्मेदवार नपाएकाले अन्य पार्टीबाट टिकट नपाएपछि रुष्ट बन्ने नेता कार्यकर्तालाई आफूतिर तानेर उम्मेदवार बनाउने रणनीति लिएको जानकारहरु बताउँछन् । जसको उदाहरण नेपाली कांग्रेसबाट टिकट नपाएपछि जसपा छिरेका मलंगवा नगरपालिकाका मेयर निरसल साहलाई उक्त पार्टीले पुनः मलंगवा नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ ।

हरेक दलका जिल्ला प्रमुख एवं प्रभावशाली नेताहरु फोन गर्दा तालमेलको प्रयास भईरहेको र उम्मेदवार छनौटको लागि अन्तिम प्रयास भईरहेको उत्तर मात्र दिन्थे । कतिपय पार्टीहरुले ‘किस्तिमा’ उम्मेदवारको टिकट राखेर अन्य पार्टीका नेता कार्यकर्तालाई समेत स्वागत गर्न तम्तयार भएका कारण सोमबार साँझसम्म धेरै नेताहरुले दल ‘अदलुबदलु’ सहित उम्मेदवार दिने निश्चित छ । सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारीका लागि निर्वाचन अधिकृतको कार्यालयमा छिर्ने उम्मेदवारहरुको मनोनयन दर्ता गर्नु पर्ने भएकाले कतिपय पालिकामा राती १० बजेसम्म पनि दर्ताको काम हुने अनुमान गरिएको छ ।

यता नेपाली कांग्रेसले सोमबार बिहानसम्म पनि गाउँपालिकाहरुको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंग्याउन सकेको छैन भने प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिका अध्यक्ष मार्फत वितरण हुने वडाध्यक्षहरुको टिकट समेत वितरण गरिसकेको छैन । नगरपालिकाहरुमा मेयरको उम्मेदवार आईतबार बिहानै छनौट गरेपनि केही नगरपालिकाको उपमेयर र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष एवं वडाध्यक्षहरुमा आकांक्षी धेरै भएकाले कांग्रेसको टिकट वितरणमा ढिलाई भएको एक नेताले जानकारी दिए ।